
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर–१३ स्थित करेखोलामा सञ्चालित अत्याधुनिक ह्याचरी उद्योगको अवलोकन गरेका छन् । मुख्यमन्त्रीसहित मन्त्रीहरुको टोलिले शनिवार कर्णाली ह्याचरी उद्योगको अवलोकन तथा निरीक्षण गरेका हुन् । उद्योग अवलोकनका क्रममा मुख्यमन्त्री कँडेलले उद्यमीलाई प्रोत्साहन होस् भन्ने ध्येयका साथ आफू र विषयगत मन्त्रालय सम्हालिरहेका मन्त्रीहरू यहाँ आएको बताए । ‘सिमित स्रोत– साधनकाबीचबाट पनि राम्रो गर्नुभएको रहेछ,’ उनले भने, ‘उत्पादन बढाउनुस्, त्यसको बजार खोज्नुस्, तपाईंहरूजस्ता उद्यमीलाई सरकारले प्रोत्साहन गर्छ ।’ उनले उद्योग सञ्चालकलाई बजार विस्तारमा जोड दिन सुझाए । उद्योगको उत्पादनलाई अन्य प्रदेशसम्म पनि पु¥याउनेगरी लाग्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्रीसँगै कर्णाली सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले पनि उद्योगको अवलोकन गरेका थिए ।

उद्योगमा २५ करोड निजी लगानी
कर्णाली ह्याचरी उद्योग २०७५ सालबाट सञ्चालनमा ल्याइएको हो । २५ करोड बढीको निजी लगानीमा सञ्चालित उद्योगका सञ्चालक पूर्णप्रसाद पाण्डेका अनुसार यो कुखुराका चल्ला उत्पादन गर्ने कर्णाली प्रदेशमै एकमात्र ठूलो र आधुनिक उद्योग हो । उक्त उद्योगमा मलेसियन प्रविधि जडान गरिएको छ । दुई विगाह क्षेत्रफलमा फैलिएको उद्योगमा ६ हजार चल्ला हुर्काउने ज्ञमताका हाउस छन् । जीएसआई कम्पनीका तीनवटा फूलक्लोज हाउस छन् भने एक ओपन हाउस रहेको छ । सञ्चालक पाण्डेले उद्योगबाट सरदर वार्षिक १२ करोडको कारोबार हुने गरेको जानकारी दिए । यहाँ उत्पादित चल्ला कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा खपत हुने गरेका छन् । कर्णालीमा सबैभन्दा राम्रो बजार जाजरकोट र कालीकोटमा रहेको पाण्डे बताउँछन् ।

उद्योग सञ्चालकका अनुसार भर्खर जन्मिएका चल्ला ल्याएर ६ महिनासम्म हुर्काउनुपर्छ । त्यसले ६ महिनापछि मात्रै अण्डा दिन सुरू गर्छ । फर्ममा पारेको अण्डा हेयरमा राखेर चल्ला निस्कन्छ । यस्तो लगानी र प्रविधि जडान गरिएको उद्योग कर्णालीमा अरु नभएकाले पनि चल्लाको माग अध्याधिक छ । उत्पादनको बजारीकरणमा समस्या नभएपनि उद्योग सञ्चालनमा भने थुप्रै कठिनाइहरु छन् । उद्योगका लागि अहिलेको मुख्य समस्या भनेकै अनियमित विधुत हो । पाण्डे भन्छन्, ‘यहाँ भएका सबै मेसिन विधुतबाटै चल्ने हुन्, विधुत नियमित नहुँदा हामी निकै मर्कामा छौं ।’ त्योसँगै उद्योगसम्म पुग्न भरपर्दो सडक छैन । कच्ची र साँघुरो सडकका कारण समस्या झेल्नुपरिरहेको उनले बताए ।

कर्णालीमै एकमात्र अत्याधुनिक ह्याचरी उद्योग भएकाले यसलाई सरकारले स्रोत केन्द्रकै रुपमा विकास गरोस् भन्ने अपेक्षा रहेको सञ्चालक पाण्डेले बताए । अहिले उद्योगमा प्राविधिकसहितका २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उद्योगले आवासीय सुविधासहित न्यूनतम १५ हजारदेखि ५० हजार तलबमा काम गर्ने जनशक्ति राखेको छ । उद्योगमा पूर्णसँँगै उनका भाइहरु राम र लक्ष्मण पनि संलग्न छन् । सरकारीस्तरबाट अनुदान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन भएमा कर्णालीका युवाहरु कृषि तथा पशुजन्य वस्तुको उत्पादनसँगै विभिन्न उद्यममा लाग्ने सम्भावना धेरै रहेको पाण्डे दाजुभाइ बताउँछन् ।























कर्मसञ्चार । २०८२ जेष्ठ १० गते शनिवार