अपर कर्णाली एघार वर्षदेखि जिएमआरको झोलामा, फेरि समय थप्दै सरकार

दुई पटक समय थप्दा पनि माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी जिएमआरले लगानी जुटाउन नसकेपछि सरकारले तेस्रो पटक समय थप गर्न लागेको हो ।

सुर्खेत, १६ मंसिर ।
माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि एघार वर्षसम्म लगानी जुटाउन असफल आयोजना प्रवर्द्धक भारतीय कम्पनी जिएमआरलाई सरकारले तेस्रो पटक समय थप्ने तयारी गरेको छ । जिएमआरलाई लगानी जुटाउन एक वर्ष समय थप गर्न लागिएको हो ।
सन् २०१४ मा आयोजना विकास सम्झौता (पिडिए) गरेको जिएमआरले चार वर्ष हुँदा पनि लगानी जुटाउन सकेको छैन । सुरूमा दुई वर्षमा लगानी जुटाउने सम्झौता भए पनि जिएमआरले त्यसपछि दुई पटक एक/एक वर्ष म्याद थपिसकेको छ । विश्वव्यापी बोलकबोलबाट कर्णाली आयोजना भारतीय कम्पनी जिएमआरले हात पारेको अर्को महिना एघार वर्ष पुग्दै छ ।

जिएमआरलाई २०१९ सेप्टेम्बरसम्म (२०७६ असोजको पहिलो साता) समयवधि दिँदै अन्तिम पटक समय थपिन लागेको स्रोतले जनाएको छ । ‘लगानी बोर्डको पछिल्लो बैठकमा माथिल्लो कर्णालबारे छलफल भए पनि कुनै निर्णय भएको छैन । फाइन्नासियल क्लोजर (वित्तीय व्यवस्थापन)का लागि आगामी सेप्टेम्बरसम्मको म्याद दिनेगरी म्याद थप गर्ने तयारी भइरहेको छ’, बोर्ड स्रोतले भन्यो, ‘बोर्डको आगामी बैठकले यस विषयमा निर्णय गर्नेछ ।

थपिएको नयाँ अवधिमा लगानी जुटाउन नसके सम्झौता स्वतस् रद्द हुने सर्तसहित समय थप्न लागिएको बोर्ड स्रोतले बतायो । यस्तो सर्तसहितको सम्झौता यसअघि पनि भएको थियो । चार वर्षअघि बोर्ड र जिएमआरबीच भएको सम्झौतामा दुई वर्षभित्र लगानी जुटाउन नसकिए एक वर्ष मात्रै थप्ने उल्लेख थियो । तर सरकारले दुई पटक समय थप्दा पनि जिएमआरले लगानी जुटाउन नसकेपछि तेस्रो पटक समय थप गर्न लागिएको हो ।

‘रन अफ रिभर’ मा आधारित नौ सय मेगावाटको सो जलविद्युत आयोजनाको लागत करिब १ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । पछिल्लो समयमा जिएमआरले बंगलादेश र भारतकै हरियाना राज्यले बिजुली किन्न तयार रहेको बताउँदै आएको छ । तर बैंक तथा वित्तीय संस्थाहरुले विद्युत खरिद सम्झौता नभएको भन्दै लगानीको विषयमा प्रतिवद्धता व्यक्त गर्न मानेका छैनन् ।

लगानी विकास सम्झौता हुँदा भारतीय कम्पनी जिएमआरले वित्तीय व्यवस्थापनका लागि २ वर्ष र त्यसपछि एक एक वर्ष गरी दुई पटक सयमवधि गरिएको थियो । जलविद्युत आयोजना निर्माणका लागि बोर्ड र जिएमआरबीच २०७१ असोज ३ मा लगानी विकास सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय गृहमन्त्री राजानाथ सिंह उपस्थितमा बोर्ड र जिएमआरबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौताको प्रावधानअनुसार चल्ने हो भने सो आयोजनाको निर्माण शुरुवात दुई वर्षअघि नै हुनु पर्ने हो । जिएमआरले हालसम्म लगानी जुटाउनै सकेको छैन । लगानी जुटाउन दिएको पछिल्लो समयवधि २०७५ असोज ३ मा सकिएको हो । पिडिए हुँदा सन् २०२१ सम्ममा आयोजना निर्माण गरिसक्ने गरि लक्ष्य लिएको थियो । विश्वव्यापी प्रतिस्पर्धाबाट एघार वर्षअघि (२००८ जनवरी) जिएमआरले सो आयोजना हात पारेको थियो ।

आयोजना निर्माण भए दैलेखका सात्तला, सिंगौडी, लयाटीबिन्द्रासैनी, नेपा, नाउलेकटुवाल र खडावाडा, सुर्खेतका पोखरीकाँडा, छाप्रे, सालकोट र अछामका भैरवस्थान, रहफ, रानीवन आयोजनाबाट प्रत्यक्ष प्रभावित हुनेछन् । दैलेखको डाबमा १५० फिट अग्लो बाँध बनाइ साढे २ किलोमिटर लामो सुरुङमार्फत अछामको बल्देमा पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट नेपाल सरकारले १२ प्रतिशत अर्थात १ सय ८ मेगावाट विजुली र २७ प्रतिशत शेयर निशुल्क पाउनेछ । यसको आयोजना विकास सम्झौता नै देशको हित अनुकुल नभएको भन्दै कर्णालीका केही संस्था र नागरिक अगुवाले विरोध समेत गर्दै आएका छन् ।

यसअघिको समाचारः

https://karmasanchar.com/2018/09/1435/

प्रकाशित मितिः   December 2, 2018 at 3:34 pm 


  • प्रतिक्रिया दिनुहोस्