हुम्ला हिमपहिरो विपत्ति

प्रदेश सरकारले पठायो तिलगाउँमा राहत

सुर्खेतः हिमपहिरोका कारण जोखिममा परेको हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा राहत सामग्री पठाइएको छ । कर्णाली प्रदेश सरकारले हिमपहिरो प्रभावित विकट तिलगाउँका लागि विहिवार राहत सामग्री पठाएको हो । सुर्खेतबाट आवश्यक राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले माग गरेअनुसारका राहत सामग्री पठाइएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । उनका अनुसार त्यहाँ ५ वटा टेन्ट, २० क्वीन्टल खाद्यान्न, १८ वटा सोलार र म्याट्रेसलगायतका सामग्री प्रदेश सरकारले पठाइएको हो । तिलगाउँमा यही जेठ १ गते राति हिमपहिरो गएको थियो ।
प्रशासन कार्यालय हुम्लाका अनुसार तिलगाउँमा यसअघि बुधवार पनि औषधि, त्रिपाल, कम्बल र खाद्यान्नलगायतका सामग्री पठाइएको छ । मोटरबाटोसम्म गाडीमा र त्यसपछि घोडा, खच्चरबाट बोकाएर राहत सामग्री तिलगाउँ पु¥याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जनाए ।
हिमपहिरोले खानेपानीको पाइम बगाएकाले खानेपानी मर्मत गर्न आवश्यक सामग्री पनि पठाइएको छ । राहतका सामाग्रीहरु पुगिसकेकाले अब अध्ययन टोलीले हिमतालको अध्ययन गर्ने जनाइएको छ । तिलगाउँको अध्ययनको लागि विज्ञसहितको टोली हुम्ला पुगिसकेको छ । लिमी उपत्यकाको हिमाली क्षेत्र तिलगाउँमा रहेका ५० घरधुरी मध्ये अहिले १८ घरधुरीका ३२ जना तिलगाउँमा बसेका छन् । लेदोसहितको हिमपहिरोका कारण त्यहाँका घरहरू जोखिममा परेकाले नजिकैको स्कुल र त्रिपालमा बस्न थालेका हुन् । तिलगाउँका घरहरूमा क्षति नभए पनि जोखिम रहेको छ ।

प्रकाशित मितिः   May 22, 2025 at 3:58 pm 


  • प्रतिक्रिया दिनुहोस्