तीन महिनाभित्र सुर्खेतबाटै ‘लाईसेन्स’

सुर्खेत, १६ असोज ।

सुर्खेतबाटै सवारी चालक अनुमति–पत्र (लाईसेन्स) वितरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले अबको तीन महिनाभित्र लाईसेन्स वितरण गर्नेगरी तयारी थालेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेको यातायात व्यवस्था सेवा कार्यालयलाई सवारी चालक अनुमति–पत्रका लागि आवश्यक प्रक्रिया मिलाउन निर्देशन गरेको छ । चालक अनुमति–पत्र वितरणका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरी वितरणको प्रक्रिया थाल्न परिपत्र गरेको हो । परिपत्र गरेसँगै आफूहरूले लाईसेन्स वितरणको तयारी थालेको यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतका प्रमुख श्रीशम्सेर राणाले बताए ।

‘नयाँ लाईसेन्स वितरणका लागि पूर्वाधार प्रक्रिया अघि बढाउन विभागले भनेको छ,’ राणाले भने, २/३ महिना समय लाग्न सक्छ ।’ आवश्यक बजेट र जग्गा उपलब्ध भए बढीमा ३ महिनामा भौतिक पूर्वाधार तयार गरी लाईसेन्स वितरण गर्न सकिने उनको भनाई छ । लाईसेन्स नविकरणको काम भने केही दिनभित्रै सुरु गरिने यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ । हालसम्म यस प्रदेशका सेवाग्राहीले नयाँ लाईसेन्स लिन, नविकरण गर्न तथा यातायातसम्बन्धी अन्य कामका लागि प्रदेश नम्बर– ५ को नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ ।

प्रकाशित मितिः   October 2, 2018 at 2:01 pm 


  • प्रतिक्रिया दिनुहोस्