काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआइजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । शाहको कथासंग्रह ‘छापामारको छोरो’ले मदन पुरस्कार जितेको थियो । २०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । डीआइजी शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब विशंखेविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरुले तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ। उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अनुसार अनुसन्धानपछि कारबाही हुनेछ । २०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक बनेका उनले तालिमे जवानको तलबमा हिनामिना आरोपपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो ।
मदन पुरस्कार विजेता पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा


कर्मसञ्चार । २०७६ फागुन २० गते मंगलवार