सवारी लाइसेन्सको म्याद सकिएको छ ? अब सुर्खेतबाटै नविकरण हुन्छ

सुर्खेत, ५ पुस ।
यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतबाट सवारी चालक अनुमति–पत्रको नविकरण सेवा सुरू गरिएको छ ।  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिहीबार एक जना सवारी चालकको अनुमति–पत्र नविकरण गरेर सेवा उद्घाटन गरेका हुन् ।

हालसम्म राजस्व संकलनको मात्र काम गर्दै आएको यातायात कार्यालयले अबदेखि सवारी दर्ता, चालक अनुमति–पत्र नविकरण, वितरण र परीक्षा सञ्चालन समेत गर्नेछ । नविकरण सेवा सुरू भए पनि अन्य कामका लागि भने केही समय लाग्ने कार्यालयका निमित्त प्रमुख घनश्याम बोगटीले जानकारी दिए । उनकाअनुसार कार्यालयमा जनशक्ति, विद्युतीय तथा सञ्चार प्रणालीको आवश्यक व्यवस्थापनपछि सबै सेवा प्रदान गरिनेछ । कार्यालयमा २९ जना कर्मचारीको दरबन्दी भए पनि पूरा जनशक्ति नभएको उनले जानकारी दिए ।

नविकरण सेवा उद्घाटनपछि बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा व्यवस्थापन गर्न प्रदेश सरकार गम्भीर भएर लागेको बताए । उनले सेवालाई निरन्तर र जनमुखी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

सुर्खेतबाट कर्णाली प्रदेशका स्थायी बासीन्दाले मात्रै सवारी अुनमति –पत्रको नविकरण गर्न पाउने छन् । ‘अन्य प्रदेशबाट जारी भएका लाइसेन्सको हकमा यहाँबाट नविकरण गर्न कार्यविधिले रोकेको छ, ’ निमित्त प्रमुख बोगटीले भने ।

माघ महिनाभित्रै  चालक अनुमति–पत्र दिइने

केही समयपछि सुर्खेतबाटै सवारी चालक अनुमति–पत्र (लाईसेन्स) समेत वितरण गर्ने तयारी कार्यालयले थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेको यातायात व्यवस्था सेवा कार्यालयलाई सवारी चालक अनुमति–पत्रका लागि आवश्यक प्रक्रिया मिलाउन निर्देशन गरेपछि चालक अनुमति–पत्र वितरणका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्न कार्यालय जुटेको छ ।

माघ महिनाभित्रै सवारी चालक अनुमति–पत्र दिने गरी तयारी भइरहेको जनाइएको छ । यसका लागि ट्रायल लिने ठाउँ केही वर्षका लागि भाडामा लिने प्रक्रिया कार्यालयले सुरू गरेको निमित्त प्रमुख बोगटीले बताए ।
हालसम्म यस प्रदेशका सेवाग्राहीले नयाँ लाईसेन्स लिन, नविकरण गर्न तथा यातायातसम्बन्धी अन्य सबै कामका लागि प्रदेश नम्बर– ५ को नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मितिः   December 20, 2018 at 1:28 pm 


  • प्रतिक्रिया दिनुहोस्