
सुर्खेत, २५ पुस ।
डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता पालना नगरेको भन्दै १६ औँ अनसन सुरु गरेका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँग भएको सहमति विपरीत विधेयक पारित गरेपछि अनसनका लागि डा. केसी इलाम पुगेका थिए। डा केसी इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा बुधबार साँझ ५ बजेदेखि अनसन बसेका छन्। अनसन बस्नुअघि डा. केसीले पत्रकार सम्मेलनको आयोजना गर्नेका साथै वित्रप्ति समेत प्रकाशित गरेर आफ्ना कुरा राखेका थिए।
‘प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भाग्यपूर्ण हो,’ डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसैबीच द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधहरुमा उन्मुक्तिको व्यवस्था गर्न लागिएको प्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ।’
डा. केसीले मन्त्री र प्रधानमन्त्रीहरु कर्मचारीलाई बलीको बोका बनाउँदै भ्रष्टचारीलाई संरक्षण गर्न लागिपरेको आरोप लगाएका छन्।
सरकारले जनताका लागि स्वास्थ्य सेवा उपलब्ध गराउनभन्दा माफियाको पक्षमा काम गरेको बताएका छन्।
‘साम्यवादी पार्टीको दुई तिहाइ बहुमतको सरकार सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पुर्याउने काम छाडेर मुट्ठीभर माफियाहरुको स्वार्थ अनुसार कानुनै बनाउन अहिलेको लागीपरेको छ। ग्रामीण क्षेत्रमा बस्ने दुई तिहाइ जनताको हक हितभन्दा सरकारलाई सीमित माफियाहरुको स्वार्थ ठूलो लागेको छ’, विज्ञप्तिमा भनिएको छ।























कर्मसञ्चार । २०७५ पुष २५ गते बुधवार