वर्षा र हिमपातको सम्भावना

सुर्खेत । हाल नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

मौसमविद् विनोद पोखरेलले मंगलबार अपराह्न पश्चिमी न्यूनचापीय प्रणालीले पश्चिम नेपालमा हल्का वर्षा गराउने सम्भावना देखिएको बताएका छन्। पोखरेलका अनुसार उक्त प्रणाली त्यति बलियो देखिएको छैन। ‘कमजोर पश्चिमी वायुले मंगलबार अपराह्न पश्चिम नेपालमा हल्का वर्षा गराउने देखिएको छ,’ उनले भनेका छन्।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। मंगलबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ। बिहीबारबाट घमाइलो मौसम सुरू हुने बताइएको छ ।

प्रकाशित मितिः   November 4, 2025 at 1:00 pm 


  • प्रतिक्रिया दिनुहोस्