कर्णालीको राजधानीमा खानेपानी संकटः मुहानमै घट्यो आधा पानी

ईश्वर अधिकारी
(सोलीघोप्टे स्थलगत रिपोर्ट)

सुर्खेत, १५ जेठ ।
लामो सुख्खा खडेरीले पानीका मुहान सुक्न थालेका छन् । मुहानहरु सुक्न थालेपछि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी आपूर्तिमा ५० प्रतिशतले  कमि आएको छ । यहाँका उपभोक्ताले हाल ९६ घण्टा अर्थात् ४ दिनमा एक पटक पानी पाउने गरेका छन् । संस्थाले वितरण गर्ने पानीको मुख्यस्रोत झुप्राखोला मुहान सोलीघोप्टेमा पानी आधा घटेको छ । मुहानबाटै पानी आपूर्ति कम भएपछि वितरणमा समस्या भएको हो ।

संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार विगतका वर्षहरुभन्दा यो वर्ष मुहानबाटै कम पानी आपूर्ति भएको छ । संस्थाले वितरण गर्ने पानीको मुख्यस्रोत झुप्राखोला मुहानमै ५० प्रतिशतले पानी घटेको छ । ‘सुख्खा खडेरीका कारण खानेपानीका स्रोतहरुमा झन्डै ५० प्रतिशतले ह्रास आएको छ,’ उनी भन्छन्, उपत्यकामा खानेपानी संकटको अवस्था छ, सेवा प्रवाहमा कठिनाई र चुनौतीहरु देखिएका छन् ।’ यतिबेला माग अनुसारको खानेपानी आपूर्ति गर्न संस्थालाई हम्मेहम्मे परेको उनले बताए ।

पानीको मुख्यस्रोत झुप्राखोलाको मुहान सोलीघोप्टे ।

झुप्रा खोला मुहानबाट वर्षायाममा प्रतिसेकेण्ड ८६ लिटर पानी आपूर्ति हुन्थ्यो । हाल प्रतिसेकेण्ड ४० लिटर मात्रै आपूर्ति हुने गरेको छ । गतवर्ष यो समयमा प्रतिसेकेण्ड ४८ लिटरसम्म पानी आपूर्ति भएको थियो । ‘हामीले प्रत्येक वर्ष सुख्खायाममा रेकर्ड राख्ने गरेका छौं,’ अध्यक्ष देवकोटाले भने, ‘विगतका वर्षहरुभन्दा यो वर्ष स्रोतहरुबाटै पानी कम आएको छ ।’ आयोजना शुरु भएयताका १९ वर्षमा झुप्राको मुहान यो वर्ष धेरै सुकेको उनले बताए ।

सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ ।

उपत्यका खानेपानीको अर्को स्रोत खरी–बोरी खोला मुहानबाट प्रतिसेकेण्ड ३० लिटर पानी आपूर्ति हुने गरेको छ । यो मुहानबाट भने खडेरीमा पनि पानी आपूर्तिमा कमि नआएको संस्थाले जनाएको छ । इत्राम खोलाबाट प्रतिसेकेण्ड ८ लिटर, खोर्केबाट ४ लिटर, बुलबुले तालबाट २ लिटर गरी संस्थाले प्रतिदिन ८४ लिटर प्रतिसेकेण्ड अर्थात् ७२ लाख ५७ हजार ६ सय लिटर पानी आपूर्ति गर्दै आएको छ । संस्थाको सेवा क्षेत्र सुर्खेत उपत्यकाका लागि प्रतिदिन १ करोड ५४ लाख लिटर खानेपानी आवश्यक छ । औषतमा हिउँदको समयमा १ करोड ३५ लाख लिटर र सुख्खा खडेरीमा न्यूनतम औषत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध हुने गरेको संस्थाले जनाएको छ । सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत उपत्यकामा बढ्दो जनसंख्या र घट्दो पानीका स्रोतका कारण खानेपानीको संकट बढ्दै गएको हो । अब खानेपानीको दीर्घकालीन संकट टार्न उपत्यकामा भेरी नदीको पानी लिफ्ट गरेर ल्याउने विकल्प मात्रै बाँकी छ । अहिले १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले साना तथा अल्पकालीन आयोजनाबाट उपत्यकाको खानेपानी समस्या हल हुने देखेको छैन ।

संस्थाले भेरी नदीको पानी नै दीर्घकालीन समस्या समाधानको एक मात्र विकल्प ठानेको छ । हरेक वर्ष गर्मीयाममा उपत्यकाबासीले खानेपानीको समस्या झेल्दै आएका छन् । मुहानबाट पानीको आपूर्ति घटेपछि संस्थाले एक महिनायता समानुपातिक वितरणका लागि ‘फ्लोसेडिङ’ तालिका लागू गरेको छ । अहिले सुर्खेत उपत्यकामा ९६ घण्टा ‘फ्लोसेडिङ’ हुने गरेको छ ।

सेवा सुधार–विस्तारका लागि के गर्दैछ संस्थाले ?

♦ दीर्घकालीन खानेपानी समस्या समाधानका लागि भरी नदीबाट प्रतिसेकेण्ड ३ सय ८० लिटर पानी सुर्खेत उपत्यकामा ल्याउन बृहत् भेरी पंपिङ आयोजनाको संघीय खानेपानी तथा सरसफाई व्यवस्थापन आयोजना कार्यालयबाट ठेक्का खोल्ने तयारी भएको छ ।
♦ तत्कालीन समस्या समाधानका लागि वीरेन्द्रनगर–१४ रतुमा पर्ने दुन्दुरे खोलाबाट प्रतिसेकेण्ड २० लिटर पानी ल्याउन कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट टेण्डर गर्ने अन्तिम तयारी ।

♦स्थानीय स्रोत संरक्षण एवं निर्माण अन्र्तगत वीरेन्द्रनगर–१० भसना बाँधमा नवज्योति केन्द्रसँगको सहकार्यमा योजना निर्माण भइरहेको । यसबाट आगामी आर्थिक वर्षभित्र प्रतिसेकेण्ड ६ लिटर पानी थप हुने ।

♦स्किम नम्बर– २ बाघखोरमा ४०० घन मिटर, स्किम नम्बर– ४ अमृतडाँडामा २०० घनमिटर र स्किम नम्बर–६ को कोलडाँडामा २०० घनमिटर क्षमताका पानी पोखरीहरु निर्माणाधीन अवस्थामा । उक्त पानी पोखरी यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने ।

प्रकाशित मितिः   May 29, 2019 at 5:52 pm 


  • प्रतिक्रिया दिनुहोस्