
सुर्खेतः गायिका हरिमाया कार्कीको तीज गीत ‘मधु’ सार्वजनिक भएको छ । हरिमाया कार्की अफिसियल युट्युव च्यानलमार्फत शुक्रवार गीत सार्वजनिक गरिएको हो । नेपाली कला–संस्कृति तथा स्थानीय मौलिकता झल्किने उक्त तीज गीतमा स्थानीय कलाकारहरूको अभिनय रहेको छ । खेमराज गौतमले संगीत संयोजन गरेको गीत मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । ‘मधु’ मा कार्कीको एकल स्वर र शब्द रचना रहेको छ । गीतको भिडियोमा समीक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया कार्की, अनमिन जिसी, पावल बलामी मगरलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
गीतको भिडियो सुर्खेतका विभिन्न पर्यटकीय स्थानमा छायाङ्कन गरिएको छ । निर्मल प्याकुरेले निर्देशन र सम्पादन गरेको भिडियोमा चन्द मन्दिर र हेमन्त नेपालीले नृत्य निर्देशन गरेका हुन् । गीतका रचनाकार कार्कीले तीज गीत ‘मधु’ नेपाली हिन्दु महिलाहरूको जीवन भोगाइ र अनुभूतिको प्रतिबिम्ब भएको जनाइन् । अघिल्लो वर्ष तीजमा ‘पार्वता’ ल्याएकी कार्कीले यो वर्ष ‘मधु’ गीत सार्वजनिक गरेकी हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षसमेत रहेकी कार्की दुई दशक लामो समयदेखि गीत संगीतका क्षेत्रमा सक्रिय छन् ।























कर्मसञ्चार । २०८२ असार २७ गते शुक्रवार