वीरेन्द्रचोकमा किन लाग्यो अस्वभाविक भीड ?

ईश्वर अधिकारी

सुर्खेत, २६ कात्तिक ।
वीरेन्द्रनगरको मुख्यचोक वीरेन्द्रचोकस्थित निर्माणाधीन एक ब्यापारीक कम्पलेक्समा तीन दिनयता बिहानदेखि रातीसम्म मान्छेको भीड लाग्ने गरेको छ । कर्णालीको राजधानी शहर वीरेन्द्रनगरको यो भीड अरू कसैको नभइ सामान किनमेल गर्ने ग्राहकको हो । स्थानीय बजारको ढाडसेक्ने महंगीले आत्तिएका ग्राहक सस्तो मूल्यमा फेन्सी तथा रेडिमेट सामान पाइँने पसल खुलेपछि घुइँचो लागेका हुन् ।

जाडो सिजनका लत्तापकडा र घरायसी प्रयोेगका सबैजसो समाग्री ६ सय रुपैयाँमा पाइने पसल खुलेको तेस्रो दिन आज (मंगलबार) ग्राहकको भीड अनियन्त्रीत भएपछि भीड व्यवस्थापन गर्न प्रहरीसमेत गुहार्नु परेकाे थियो । ग्राहकको भीडले पसलको सामानमा समेत क्षती पुगेपछि नियन्त्रणका लागि प्रहरी बोलाइएको हो ।

तेन्जीन लमु क्लोथिङ स्टोर नामको उक्त पसलमा बिना विज्ञापन विक्री शुरु गरेको दिनदेखि नै ग्राहकको घुइँचो लागेकाे छ । आफ्नो पसलकाे विक्रीबाट सटरभाडा तिर्न हम्मेहम्मे परेका आसपासका व्यवसायी यस्ताे दृश्य देखेर अचम्मित परेका छन् । स्थानीय मेडिकल ब्यवसायी प्रेम भण्डारी र निर्माण ब्यवसायी नेत्र कार्कीको साझेदारीमा निर्माणाधीन भवनको दोस्रो तलामा सञ्चालित पसलमा पहिलो पटक ल्याएको ९० प्रतिशत सामान दुई दिनमै सकिएको  छ ।

गुणस्तरीय सामान सस्तो मूल्यमा पाएपछि ग्राहकको भीड लागेको हुन सक्ने घरधनी भण्डारीले बताए । वीरेन्द्रनगर -४ का युवराज पन्तले गतवर्ष जाडोमा आफूले वीरेन्द्रनगरकै एक चर्चित फेन्सी पसलबाट ३ हजार २ सयमा किनेको त्यहीँ क्वालिटिको जकेट त्यहाँ ६ सय रुपैयाँमा पाएको दाबी गरे । सामान किनेर फर्किएका पन्तजस्तै धेरैले कर्मसञ्चारसँगको कुराकानीमा सस्तोमा राम्रो सामान पाएको प्रतिक्रिया दिए ।

केही दिनका लागि मात्रै खुलेको हो की भन्ने आशंकाले सबैले छिटै सामान किन्ने हत्तारोले ग्राहकको भीड अनियन्त्रीत भएको हुनसक्ने घरधनी भण्डारीले बताए । उनकाअनुसार पसल सञ्चालकले ७ वर्षको लागि घरभाडा सम्झौता गरिसकेका छन् । दाङको तुल्सीपुरमा मुख्यशाखा रहेको तेन्जीन लमु क्लोथिङ स्टोरको वीरेन्द्रनगरमा विक्री शाखा खोलिएको हाे ।

यहाँका फेन्सी तथा रेडिमेट ब्यवसायीले हजारौंको सामान खरिद गर्दा पनि ग्राहकलाई बिल नदिइ राज्यलाई कर छलि गर्दै आएको पाइएपनि यस पसलमा भने ६ सयको सामान खरिद गर्दा ग्राहकलाई बिल दिने गरिएको छ ।

यहाँका फेन्सी तथा रेडिमेट पसलको सम्बन्धीत निकायले नियमित बजार अनुगमन नगर्दा हरेक सामानमा ब्यवसायीले मनलाग्दी मूल्य असुल्दै आएका छन् । यसरी सस्तोमा सामान विक्री हुन थालेपछि फेन्सी तथा रेडिमेट ब्यावसायीमा यसले तरंग ल्याएको छ । `यस्तो क्वालिटिको कपडा यति सस्तोमा कसरी विक्री गरियो हामी अचम्मित भएका छौं, ‘एक फेन्सी व्यवसायीले भने हामीलाई खरिद नै योभन्दा महंगो पर्छ ।’ सिजनका कपडा सस्तो मूल्यमा पाइने पसल खुलेपछि यहाँका ब्यवसायी आफ्नो धन्दा चौपट हुने डरले त्रसित छन् ।

चलनचल्तीको बजारमा महंगो मूल्य तिरेर कपडा खरिद गरिरहेका ग्राहकले यहाँका ब्यापारीले चर्काे मूल्यमा सामान बेच्दै आएको आरोप लगाएका छन् ।  सस्तो रेटमा सामान पाइँने यस्ता पसलले ग्राहकलाई राहत पुग्ने उनीहरूकाे विश्वास छ ।

आज दिउँसो ग्राहककाे भीड थेग्न नसकेपछि सञ्चालकले याे पसल नै बन्द गर्नु परेकाे थियाे । बिहानदेखि पालाे कुरेर बसेका ग्राहक खाली हात फर्किएका थिए ।

प्रकाशित मितिः   November 12, 2019 at 7:48 pm 


  • प्रतिक्रिया दिनुहोस्