
ईश्वरराज अधिकारी
सडकले विकास ओसार्न छोडेको छ । पत्याउने या नपत्याउने सुविधा तपाइँलाई छ । हेर्नुहोस्, सडकले अचेल विचार ओसार्छ । हो, त्यो पनि ताइँन-तुइँको । जब सडकमा भीड मिसिन्छ, उसले विवेक गुमाउँछ । विनास उमार्छ ।
सक्ने त्यहीँबाट उठ्छ । नसक्नेलाई त्यहीँ पछार्छ । प्रतिपक्ष सडकमै, सत्ता पक्षको तामझाम देखाउने थलो त्यहीँ सडक, प्रतियोगिता सडकमै, बोसो घटाउनेको भीड सडकमा, शान्तिको कामना गर्ने, अधिकार माग्ने, चोरडाँका भाग्ने, यात्रा गर्नेदेखि जात्रा देखाउनेसम्म सडकमै । जय सडक । अरे वा सडक !
निर्दोष सावित गर्न सडकमा जानु !
पछिल्ला केही घटना हेर्दा यस्तो मान्यता स्थापित हुँदैछ । केही व्यक्तिलाई लागेको छ, सडक ततायो भने निर्दोष भइन्छ । नहोस् पनि किन सडकमा उत्रिएकै भरमा सरकार झुकेको छ । अपराधी लुकेको छ । यस्ता थुप्रै दृष्टान्त जो छन्, विधिको शासन छ भनिएको हाम्रो सुन्दर शान्त नेपालमा !
हामी नेपालीका लागि सडक संघर्ष कम्ता प्यारो छ र !
सुरू सडकबाटै अन्त्य सडकमै । रिस पोख्न सडक, खुसी साट्न सडक । श्रमिको साथी सडक, नेताको छाती सडक । शुभकर्म सडकमै, अशुभकर्म सडकमै ।
आजको दिनमा सडकमा नहुँने र नदेखिने केही कुरा छैन । सडक शक्ति देखाउने र भक्ति गाउने आफैँमा सर्वश्व र सर्वोच्च निकाय बनेको छ । त्यतिमात्रै हो र, सडक बिना कसैलाई केही बन्न सक्छु भन्ने लागेको भए उ पनि अन्तिममा पुग्ने सडकमै हो ।
सडकमै रोपाइँ, सडकमै वृक्षारोपण । सडकको महिमा र उपयोगिताको सूची बनाइहाल्न मुस्कील छ । त्यो दुशाहस गर्ने आँट मसँग छैन पनि । सूची बनाइयो भने पनि पूर्व–पश्चिम राजमार्गभन्दा लामै बन्ला छोटो पक्कै बन्दैन ।
तपाइँले यदि यो लेख पढिरहनु भएको छ भने लागिरहेको होला यो कोही विषय हो ! मुलुकमा कति जटिल विषय छन् । थुप्रै सवाल छन् । कस्ता हुन् कस्ता अनेकथरी मुद्दा छन् । लेख्नकै लागि यसले यहीँ सडक देख्यो ! हो, मलाई पनि लाग्न त त्यस्तै लाग्छ, लागेर गर्नुहुन्छ के ! सडक न्यायालय बन्यो, फलानो दोषी हलानो निर्दोषी भन्यो ! सडकले सेवा विस्तार गरेपछि अब सडक गाडी गुडाउने ठाउँ मात्रै रहेन, मायाप्रेम र राजनीतिक विषयमात्रै लेखेर पनि भएन । त्यसैले त लेख्नका लागि मेरो विषय पनि सडकनै बन्यो ।
कसले भन्छ, सडक केही होइन् । राणाशासन, पञ्चायती व्यवस्था इतिहास बनाउने, राजसंस्था विगत बनाउने अनि विद्रोहीलाई मनाउने यहीँ सडक होइन ? तैँले जिकिर गरेर हुन्छ ? भन्नुहोला, सुन्नुस् । नपत्याए उनैलाई सोध्नुस् । सत्तारुढ दलका अध्यक्षद्वय ‘केपी एण्ड पिके’ ले पनि सडकमा झुमेरै सत्ता चुमेका त हुन् । यो सबै देखेँ भोगेका साँक्षी तपाइँ हामी नै होइन र ? लामो सडकयात्रा भएकाले त्यसबीचमा कहिल्यै जंगल छिरेहोलान्, कहिले दरबार त कहिल्यै धर्मशाला, त्यो अर्कै कुरो भयो ! फेरि, शासनमा पुग्नेवालालाई हाम्ले अनुशासन सिकाएर हुन्छ ? बैँसका बेला वेद कसले पढ्छ ? कुरा यति हो, उनीहरु पनि खराब संगतमा परे होलान् ! र त कहिले माओ कहिले लेनिन पढे होलान । उनीहरूले देखाएको बाटो हिँडे होलान् ।
हामी सबैले अधिकांश घटनामा सधै चिन्ता र प्रश्न गर्ने विषय हो– हाम्रो समाज कत्ता जाँदैछ ?
जगजाहेर छ र, घामजस्तै छर्लङ्ग पनि । हामी सडकमा जाँदैछौं । व्यक्ति सडकमा गएपछि समाज पनि स्वतः सडकमा जाने नै भयो । फरक यति हो उहिले सत्ता, व्यवस्था परिवर्तन, सत्य र न्यायका लागि दबाब दिन सडकमा गइन्थ्यो । अहिले मन परेको व्यक्तिलाई न्याय दिलाउने नाउँमा संकल्प गरेर । निर्दोष सावित गर्ने भ्रममा छोटो बाटो भएर हामी सडकमा पुगेका हौंं । प्रतिपक्ष दल र तीनका गोतियारको पुर्खेउली भन्नुस् या थातथलो सडक नै हो । जो आज पनि हरेक सडक ‘नाटक’ का नदेखिने आयोजक हुन् । पर्दा पछाडीका ‘पावर’ ।
न्याय माग्न सडकमा जानुलाई स्वभाविक मान्न सकिएला । भलै अनौठो लागेपनि, यो नौलो भने होइन । तर, मानौं घटनाको आरोपी प्रहरी हिरासतमा छ, कानून कार्यान्वयन गर्ने निकायले अनुसन्धान जारी राखेको छ । देशमा सरकार छ । न्यायालय छ । प्रहरी–प्रशासन छ । कसैलाई कोही राम्रो लागेको छ, र सडकबाटै निर्दोष सावित गर्ने जवरजस्त प्रयास भइरहेको छ । यो कोही तरिका हो ?
सरकार आफूलाई इतिहासकै शक्तिशाली मान्छ । प्रहरी अनुसन्धानमा आफुलाई अब्बल ठान्छ । अपराधी छुट्दैन, निर्दोष फस्दैन अदालत यसै भन्छ । तर, यीनका कुरा यहाँ कसैको भक्तले सुन्छ ? अँह विलकुल सुन्दैन । सुनेर के हुन्छ ? उसको मान्छे पक्का निर्दोष हुन्छ ? यसरी विना ज्ञारेन्टी कुनै सम्झौता या सहमति बन्छ !
जगतकै भलो गर्ने ठानिएको, न्याय–निसाब ठोक्ने मानिएको मानवरूपी भगवान आफैँ अन्यायमा परेको छ । हेर्नुस् देउता (भगवान) यी कानूनभन्दा माथि हुन्छन् । जाबो मान्छेले बनाएको सरकारले यीनको न्याय–निसाब गर्ने हैसियत कसरी राख्छ ?
मारियो या म¥यो, मर्ने त मरिगयो । परिवारले शोक मनाउन पाएको छैन । प्रहरीले रिपोर्ट बनाउन भ्याएको छैन । हामीलाई भने कसैको ‘फेन’ हुँ भन्दैमा उसलाई घटनामा संलग्न नभएको पुष्टि गर्ने हतारो छ । सडकबाटै त्योपनि आजै, क्लिनचिट दिइहाल्नु परेको छ । जो आरोपी हो उ अनुसन्धानमा सहयोग गर्न तयार छु भन्छ । पीडितपक्षले न्याय पाउनुपर्छ भन्ने मान्यता राख्छ । उ पक्राउ पर्छ, टाउको अरुको दुख्छ । ज्वरो उनैलाई आउँछ । प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नुलाई भक्तहरूको भीडले अन्याय ठान्छ ! अनि यस्तो बेला हाम्रोजस्तो बहुउपयोगि सडकको साथ नलिएर काम बन्छ ?
हामी भक्त हुनुको नाताले हाम्रा ‘भगवान’को खिलाप कसैले कानेखुसी मात्रै गरोस् न उसको हुर्मत लिन आइतबार कुर्नुपर्दैन । यस्तो अवस्थामा हाम्रा सडक संयन्त्र ‘अटोमेटिक’ परिचालन हुन्छन् । सडकमै भाटे कारर्वाही सुरू हुन्छ । यसलाई भगवानप्रति भक्तको आस्था भनेर मात्रै बुझ्नुहोला । योभन्दा बढ्ता जान्ने भइयो भने आफ्नो श्रद्धान्जली आफैंले पढ्न पाउने अवसर आउँछ । उक्त अवसरको लाभ लिने नेपालीको दर दिनानुदिन बढ्दो छ ।
लौ हेर्नुस्, यो हामीले कुनै देशको नक्कल थोडी गरेका हौँ, वीर नेपालीको आफ्नै अक्कल हो । मौलिक खोज हो । यस्तो अवसर दुनियाँको मै हुँ भन्ने देशका नागरिकले कत्तै पाउँछ ?
सडककोे शक्ति नाप्ने यन्त्र दुनियाँमा सायदै बनेको होला । तर, इतिहासका कैंयन कालखण्डमा यसको शक्ति नाप्ने र राप ताप्ने मात्रै होइन नजरअन्दाज गर्ने प्रयासहरू पनि भएका छन् । कोही सकियो भने हामी सडकमै पुग्यो भन्छौं । कोही बन्यो सडकबाटै बन्यो भनिरहेकै छौं । भएको पनि त्यस्तै त छ, नभनौं पो कसरी ।
सडक बनाउनुको उद्देश्य त गाडी गुडाउनु थियो तर भइदियो सत्ता उडाउने, शक्ति जमाउने, भक्ति गाउने र हुँदाहुँदा अब सडक न्याय–निसाब गर्ने थलो । यति भएपछि सडकबारे एकखालको निष्कर्ष किन ननिकाल्ने ? सडक हाम्रो पाठेघर हो र आर्यघाट वा समाधीस्थल पनि । जहाँ बन्नेका लागि पनि ठाउँ छ र सकिनेका लागि पनि । यो चाहिँ मैले भनेको हुइँन इतिहासले भन्छ, वर्तमानले यस्तै देखाउँछ ।
‘यो देशमा न्याय पाइँदैन । न्यायालय भ्रष्ट छ । नेता सबै चोर छन् ।’ सडकमा यस्तै सुनिन्छ । यो देशमा न्याय पाइँदैन भने यहीँका खाल्डा–खुल्डी र धुलाम्मे–हिलाम्मे सडकमा नाराबाजी गरेर के अर्थ । देशमा न्याय नपाइँने निष्कर्षमा पुगिसकेका भक्तजन युवाले विदेशमै गएर प्रदर्शन गरे पनि त भइगयो । यसैपनि अधिकांश युवाको आधा उमेर उतै बितेकै छ । कमसेकम चिल्ला सडकमा उफ्रिन त पाइएला ! हामी यो सरकारै मान्दिनौं, अदालतलाई न्यायालय ठान्दैनौं, प्रहरी प्रशासन जान्दैनौं भनेर पनि त न्याय पाइने पक्कै होइन । बरु यसलाई सुधारौं भनेर हामी कहिल्यै सडकमा गयौं ? दल र नेताका राजनीतिक अभिष्ट पुरा गर्ने आन्दोलन बाहेक ।
अब यति कुरा गरेपछि भन्नैपर्ने हुन्छ– जसरी कसैको मृत्यु मजाक हुँदैन, उसैगरी सडकबाटै न्याय–निसाब हुँदैन ।
यो मलाई लागेको विचार हो । कसैका भक्तले विचार गर है भनिहालेछन् भने यसबाट पनि पछिहट्नु मेरो कर्तव्य हुन् आउँछ । नत्र थाहा छ, आफ्नै श्रद्धान्जली ट्याग भएर आउनेछ । त्यो पढ्न पाउने भाग्यमानी मध्येको एक म पनि हुनेछु !
हामीलाई व्यक्तिको पक्ष-विपक्ष भएर कोपभाजन गर्न मन पर्छ । राजनीतिक रुपमा विभाजित भएर सडकमा नाच्दा उमङ्ग आउँछ । किनकी हामीलाई लागेको मात्रै सत्य हो । तथ्य र प्रमाणहरू सबै बक्बास् हुन् । न्यायालय भनेकै सडक हो । सडक अस्त्र हो । सडक सत्य हो । यहि हर्कतलाई संस्कृतिका रुपमा शिरोेपर गरेपछि हामी सडकमा नगएर के विधिको शासनमा जाउँला ?
हाम्रा प्रधानमन्त्रीलाई मात्रै सधै ताजुब लागेर हुन्छ ? अब हाम्लाई पनि ताजुब लाग्न पाउनुपर्छ । सम्माननीय प्रधानमन्त्रीज्यू हजुरले मात्रै मुलुक नयाँ युगमा प्रवेश ग¥यो भनेर भयो र ? कसैको भक्त बनेर सडकबाटै आस्था जगाउन नपाए देश बन्छ ?
सडकबाट हामी कत्ता जादैछौं ? सडकभएरै आउनुहोस् । पटक–पटक सडकमै हेर्नुहोस् । सडकमै जय । सडकमै भय । न्याय पनि प्रभावित भइरहनेछ यस्तो संस्कारको अन्त्य नभए ।
(लेखक यस अनलाइन पत्रिकाका सम्पादक हुन् । यो व्यङ्ग्यात्मक लेख हो । सरकार, न्यायालय, प्रशासन, पीडित, समर्थक, आरोपित र आमनेपालीको मानमर्दन गर्न खोजिएको अर्थबाट नबुझिदिनहुन लेखकको अनुरोध छ ।)
प्रकाशित मितिः September 4, 2019 at 2:06 pm























कर्मसञ्चार । २०७६ भाद्र १८ गते बुधवार