
सुर्खेत, २४ माघ ।
फोर्स मोटर्सको कर्णाली प्रदेशका लागि आधिकारिक विक्रेता श्रीराम इन्टरप्राईजेज एण्ड अर्डर सप्लायर्सले सुर्खेतको वीरेन्द्रनगरमा फोर्स मोटर्सको शोरुम सञ्चालनमा ल्याएको छ ।
श्रीरामले करिब ४ करोड लागतमा सुविधा सम्पन्न शोरुमसहित पाट्र्स एण्ड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । बुधबार वीरेन्द्रनगरमा उक्त शोरुमको उद्घाटन गर्दै फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता प्राईम अटो टेकका अध्यक्ष कर्ण बैद्यले सस्तो, सुलभ र स्तरीय सवारी साधन भएकाले कर्णालीमा फोर्स मोटर्स गाडी बढि रुचाईएको बताए । उनले भारतमा निर्मित फोर्स मोटरको माग नेपालमा पनि वर्षेनी ४५ प्रतिशतले बढ्दो क्रममा रहेकाले समय सापेक्ष परिमार्जन गर्दै आधुनिक स्तरीय गाडीहरु आयात भईरहेको जनाए ।
स्पेयर पार्ट्सको सुविधासहित खुलेको यो शोरुमबाट सवारी साधन खरिद गर्ने ग्राहकलाई विशेष छुट सुविधा भएको श्रीरामका सञ्चालक रामबहादुर खड्काले जानकारी दिए । फागुन १ गते भित्र फोर्स मोटरका सवारी साधन खरिद गर्ने ग्राहकलाई प्रत्येक गाडीमा दुई लाख रुपैयाँको छुट रहेको उनले जनाए ।
उनकाअनुसार शोरुममा फोर्सको १४ सिटदेखि १८ सिट क्षमताको ट्राभलर लक्जरी, एसी, नन एसी, ट्राभलर भ्यान, स्कुल बस र एम्बुलेन्स लगायतका गाडीहरु विशेष छुटमा पाउन सकिनेछ । श्रीरामले कर्णाली र ५ नम्वर प्रदेशको नेपालगञ्जको लागि फोर्स मोटरको आधिकारिक डिलरको रुपमा गाडीहरुको विक्री वितरण गर्दे आईरहेको छ ।
मर्सडिज बेन्जको इन्जिन रहेको फोर्स मोटर्सका उत्पादनहरु कम तेल खपत गर्ने, पहाड तथा तराईमा उत्तिकै महत्वपूर्ण रहेका छन । यसका साथै यसमा एन्टी ब्रेक लकिङ्ग सेवा समेत रहेको सञ्चालक खड्काले बताए । सुर्खेतको वीरेन्द्रनगरमा आधुनिक सर्भिस सेन्टरमा दक्ष मेकानिकबाट सर्विसिङ्ग सुविधा समेत प्रदान गरिएको उनको भनाइ छ । शोरुम उद्घाटन कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले फोर्स मोटरका गाडीहरु कर्णालीमा बढी भएपनि यसअघि प्रदेशमा शोरुम र स्पेयर्स पाटर्स एण्ड सर्भिस सेन्टर नहुँदा नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको बताए ।
नेपालमा फोर्स मोटर्सका गाडीहरुको वर्षेनी माग बढेपनि कम्पनीले सामाजिक उत्तरदायित्वप्रति कुनै विशेष भूमिका नरहेको उनले जिकिर गरे । ‘कम्पनीले नेपालमा आफ्ना उत्पादनहरु विक्री मात्र गर्ने होइन, उसले सामाजिक उत्तर दायित्वलाई समेत ध्यान दिनु पर्छ,’ उनले भने ।
प्रकाशित मितिः February 7, 2019 at 2:01 pm













कर्मसञ्चार । २०७५ माघ २४ गते बिहीवार