नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन

सुर्खेत, २४ भदौ ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको उदघाटन गरे । यो दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन हो ।

दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट उद्घाटन गरेको पाइपलाइनको भिडियो नेपाल आयल निगमको अम्लेखगञ्ज र भारतको मोतीहारी डिपोमा समेत प्रत्यक्ष प्रसारण गरिएको थियो। मोदीले पठाएको डिजेल ओलीले स्विच थिचेर रिसिभ गरेका हुन्। भारतबाट आएको तेल अम्लेखगञ्ज डिपोमा रहेको आयल निगमको ट्यांकीमा जम्मा गरिएको हो।

उद्घाटनसँगै पाइपलाइनबाटै भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति सुरू भएकाे छ। त्यसका लागि नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ। यसबाट वार्षिक रुपमा दुई अर्ब बचत हुने बताइएको छ।

यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ। भारततर्फ ३२.५ र नेपालतर्फ ३७.५ किलोमिटर लामो रहेको पाइपलाइन निर्माण गर्नका लागि ४ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ।

जसबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ आउँछ। एक किलोलिटरमा एक हजार लिटर हुन्छ। नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङकी निर्माण गरिएको छ।

उद्घाटन पश्चात तत्काल बरौनी डिपोबाट डिजेल आउनेछ। वि.सं. २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो। वि.सं. २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए।

शुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ। पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको करिब ७५ करोड रुपैयाँ संयुक्त लगानी रहेको पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ।

प्रकाशित मितिः   September 10, 2019 at 1:16 pm 


  • प्रतिक्रिया दिनुहोस्