
स्याङ्जा चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी
सुर्खेत, १८ कात्तिक ।
स्याङ्जा चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कुटिएका छन् । रारा पुगेर फर्कने क्रममा कालिकोटमा मेयर गिरी कुटिएका हुन् । उनी सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा शनिबार राति बास बसेका थिए ।
मेयरको टोलीले मादक पदार्थ सेवन गरी हो हल्ला गरेको विषयमा विवाद सुरू भएको थियो । मेयर बसेको होटलमा बसेका काठमाडौँका युवाको टोली र मेयरबीच विवाद उत्पन्न भएपछि युवाहरुको टोलीले मेयर गिरीमाथि कुटपिट गरेका हुन् ।
‘मादक पदार्थ सेवन गरी मेयरले आफ्नो पदको घमण्ड देखाउन थालेपछि विवाद भएको हो’, स्रोतले भन्यो, ‘विवाद बढ्दै गएपछि मेयर र काठमाडौंको समूहबीच हात हालाहाल भयो ।’ हात हालाहालमा मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जान पनि घाइते भएको स्थानीय प्रहरीले बताएको छ । मेयर गिरीको टाउकोमा चोटलागेको र ४ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ । घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो ।
प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक देवेन्द्र मल्लले दुबै पक्ष मादक पदार्थ सेवन गरेर आक्रमणमा उत्रिएको बताए । उनले अहिले दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्रको गराउने काम भइरहेको छ ।
मेयर गिरीले भने आफूलाई कसैले कुटपिट नगरेको प्रतिक्रिया दिएका छन् । मेयर गिरीले भने, ‘हामी रारा भ्रमणमा गएका थियौँ । अहिले सुर्खेत फर्कँदै छौँ, बाहिर हल्लामा आएजस्तो कुनै घटना भएको छैन ।’























कर्मसञ्चार । २०७५ कार्तिक १८ गते आइतवार