नेपाल–भारत पेट्रोलियम पाइपलाइनः ३० महिनाको परियोजना १८ महिनामै सम्पन्न

सुर्खेत, २४ भदौ ।
नेपालमा धेरै आयोजनाहरु तोकिएको समयमा नसकिरहेका बेला पाइपलाइन परियोजना भने तोकिएभन्दा चाँडो सम्पन्न भएको छ । ३० महिनामा सक्ने योजना रहेको उक्त परियोजनाको काम १८ महिनामै सम्पन्न भइ तेल आपूर्ति हुन थालेको हो ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट एकै पटक स्वीच थिचेर नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेसँगै डिजेल आपूर्ति हुन थालेको छ । भारतको मोतियारीबाट आएको तेल नेपालको अम्लेखगञ्ज डिपोमा रहेको ट्यांकीमा जम्मा गरिएको हो ।

२०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो । वि.सं. २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माणको शिलान्यास गरेका थिए ।

निगमको वार्षिक १ अर्ब १७ करोड जोगिने

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि ढुवानीमा नेपाल आयल निगमको वार्षिक १ अर्ब १७ करोड रुपैयाँ जोगिने निगमले जनाएको छ । मोतिहारीबाट अमलेखगन्जसम्मको साढे ६९ किलोमिटरको ढुवानी खर्च जोगिने भएको हो । सो दुरीमा नेपालतर्फ ३७.२५ किलोमिटर पर्दछ भने भारततर्फ ३२.२५ किलोमिटर पर्छ ।

हालको मागमा ५० प्रतिशत डिजल पाइपलाइनमार्फत आपूर्ति हुने उनले बताए। बाँकी ५० प्रतिशत डिजल भने ट्याङ्करबाटै आपूर्ति हुनेछ । दैनिक औसत ६ हजार किलोलिटर डिजल आपूर्ति हुने गरेकोमा अब ३ हजार किलोलिटर पाइपलाइनबाट आउने छ । पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुँदा दैनिक ७ हजार किलोलिटरसम्म तेल आउन सक्नेछ ।

‘हालको आपूर्तिलाई क्रमिक रूपमा बढाएर डिजेलमा कुल मागको ७२ प्रतिशतसम्म पाइपलाइनबाटै आपूर्ति गर्ने लक्ष्य लिएका छौँ,’ नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले भने । उनका अनुसार भण्डारणको क्षमता विस्तार भएपछि पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुनेछ । हाल अमलेखगञ्ज डिपोमा भण्डारणका लागि ४ वटा ट्याङ्की छन् । ४१ सय किलोलिटर क्षमताका २ र ३९ सय किलोलिटर क्षमताका २ ट्याङ्की छन् । पाइपलाइनबाट आएको तेल काठमाडौं उपत्यका र पोखराका लागि पठाउने निगमले जनाएको छ । मंगलबारदेखि नै पाइपलाइनबाट आएको तेल वितरण सुरू हुने निगमले जनाएको छ । पाइपलाइनबाट केही समयपछि पेट्रोल पनि आउने छ ।

पाइपलाइन परियोजनाका लागि भारतले २ अर्ब भारु सहयोग गरेको हो । आगामी एक वर्षसम्म पाइपलाइनको मर्मत सम्भारको जिम्मा भारतले नै लिएको छ । भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक जेपी सिन्हाले यो पाइपलाइन दक्षिण एसियामै पहिलो अन्तरदेशीय पाइपलाइन भएको दाबी गरे ।

प्रकाशित मितिः   September 10, 2019 at 4:47 pm 


  • प्रतिक्रिया दिनुहोस्