खानेपानीमा ४८ घण्टे ‘फ्लोसेडिङ’

अबदेखि उपभोक्ताको धारामा ४८ घण्टामा एक पटक मात्रै पानी आउनेछ ।

सुर्खेत, १८ वैशाख ।
गर्मी बढेसँगै खानेपानीका मुहानहरु सुक्न थालेपछि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले हाल वितरण भइरहेको समय तालिकामा परिवर्तन गरेको छ । मुहानबाट ४० प्रतिशतले पानीको आपूर्ति घटेपछि संस्थाले (बुधबार) आजदेखि ४८ घण्टे तालिका अनुसार पानी वितरण गर्न लागेको हो ।

स्रोतबाट उपलब्ध पानीलाई व्यवस्थित गर्दै समानुपातिक खानेपानी वितरणका लागि संस्थाले ‘फ्लोसेडिङ’ लागू गरेको  छ । अबदेखि वीरेन्द्रनगरका सबै स्किममा ४८ घण्टामा एक पटक मात्रै पानी वितरण गरिने संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । माग अनुसारको खानेपानी आपूर्ति गर्न संस्थालाई हम्मेहम्मे परेको उनले बताए ।

हाल एक सय ७८ लिटर खानेपानी माग हुँदै आएको वीरेन्द्रनगर उपत्यकामा गर्मी लागेसँगै संस्थाले ९६ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति गरिरहेको छ । मागभन्दा झन्डै ८२ लिटर प्रतिसेकेण्ड पानी अभाव भएपछि आपूर्तिमा समस्या भएको हो ।

हरेक वर्ष गर्मीयाममा उपत्यकावासीले खानेपानीको समस्या झेल्दै आएका छन् । विगतका वर्षहरुमा ९६ घण्टासम्म ‘फ्लोसेडिङ’ हुने गरेको थियो । संस्थाले हाल वीरेन्द्रनगरका १७ हजार घरधुरीलाई खानेपानी उपलब्ध गराउदै आएको छ ।

 

प्रकाशित मितिः   May 1, 2019 at 7:10 pm 


  • प्रतिक्रिया दिनुहोस्