बाल कल्याण अधिकारीका लागि क्षमता विकास तालिम

जुम्ला । कर्णाली प्रदेशका तीन जिल्लाका बाल कल्याण अधिकारीका लागि बाल अधिकार सम्बन्धी दुई दिने क्षमता विकास तालिम बिहिवारदेखि जुम्लामा सुरू भएको छ । तालिममा जुम्ला, कालिकोट र मुगुका गरी २१ वटा स्थानीय तहमा कार्यरत बाल कल्याण अधिकारीहरू सहभागि छन् । बाल अधिकारका लागि साझा अभियान ‐सिसिआर) कर्णालीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा तालिम सञ्चालन गरिएको छ । आयोजक संस्थाकाअनुसार बाल अधिकारका क्षेत्रमा स्थानीय तहको भूमिका थप प्रभावकारी बनाउने तथा बाल अधिकार सम्बन्धी कानुनी एवम् नीतिगत व्यवस्था र बाल संरक्षणका विषयमा अधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
सिसिआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यले बाल अधिकारको प्रभावकारी कार्यान्वयनका लागि बाल कल्याण अधिकारीको भूमिका महत्वपूर्ण रहेकाले तालिममार्फत उनीहरूको ज्ञान, सीप र कार्यक्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको बताए । तालिम उद्घाटन सत्रका अतिथि वक्ताहरूले स्थानीय तहमा बाल अधिकार संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन बाल कल्याण अधिकारीको भूमिका महत्वपूर्ण रहेको जनाएका छन् । बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, बालविवाह तथा अन्य जोखिम न्यूनीकरणका लागि सरकारी निकाय, सेवा प्रदायक संस्था तथा विकास साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ । तालिमको सहजीकरण प्रदेश बाल अधिकार समितिका सदस्य डम्बरबहादुर रोकाय, सिसिआर कर्णालीका उपाध्यक्ष तुलाराम पाण्डे र सिसिआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले गरिरहेका छन् ।

प्रकाशित मितिः   October 1, 2026 at 6:03 pm 


  • प्रतिक्रिया दिनुहोस्