अध्यक्ष भन्छन्,–हामी अरुभन्दा पृथक

सुर्खेत, २१ वैशाख ।
सुर्खेतमा नयाँ यातायात प्रा.लि.सञ्चालनमा आएको छ । कर्णाली प्रदेश राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा पञ्चकोशी यातायात प्रा.लि.सञ्चालनमा ल्याइएको हो ।
प्रा.लि.ले भोलि (वैशाख २२ गते) देखि यातायात सेवा शुरु गर्दैछ । संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै आम्दानीको निश्चित हिसा नियमित रुपमा समाज सेवामा लगाउने गरी प्रा.लि.ले सेवा सञ्चालन गर्न लागेको हो ।
‘यातायात सेवा दिने मात्र होइन,’ अध्यक्ष सञ्जय खत्रीले शनिबार प्रा.लि.द्धारा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले संस्थागत सामाजिक उत्तरदायित्वसहितको फरक सेवा दिँदै छौं ।’ उनका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवामा समर्पीत कुनै एक सामाजिक संस्थालाई १० हजार रुपैयाँ तत्कालै आर्थिक सहयोग गरिनेछ ।
सुर्खेतस्थित प्रशान्ति वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई प्रसिद्ध तिर्थस्थल देउतीबज्यै र काँक्रेविहारलगायतका पर्यटकीय स्थानको निःशुल्क दर्शन तथा भ्रमण गराई सेवा प्रारम्भ गर्न लागेको प्रा.लि.ले जनाएको छ ।
१५ वटा साना–ठूला सुविधाजनक बससहित देशका विभिन्न रुटमा यातायात सेवा दिने तयारी गरेको प्रा.लि.ले गाडी संख्या ४० पुगेपछि प्रति टिकट एक रुपैयाँ जम्मा गरी वार्षिक रुपमा सोही प्रकृतिका सामाजिक संघ–संस्थालाई सहयोग रकम प्रदान गर्नेछ । व्यवसायबाट मुनाफा कमाउने मात्र नभई समाजप्रति उत्तरदायि बन्नुपर्छ भन्ने मनसायले आफूहरुले आम्दानीको केही भाग सामाजिक काममा लगाउन चाहेको अध्यक्ष खत्रीले बताए । यसकारण पनि पञ्चकोशी यातायात प्रा.लि.ले अन्य यातायातसम्बद्ध निकायभन्दा पृथक तरिकाले सेवा दिन लागेको उनको दावी छ ।
भोलि विहान सुर्खेतस्थित प्रशान्ति वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई प्रसिद्ध तिर्थस्थल देउतीबज्यै र काँक्रेविहारलगायतका पर्यटकीय स्थानको निःशुल्क दर्शन तथा भ्रमण गराई सेवा प्रारम्भ गर्न लागेको प्रा.लि.ले जनाएको छ । परम्परागत शैलीभन्दा पनि ज्येष्ठ नागरिकप्रतिको सम्मान र उत्तरदायित्वलाई वोध गर्ने/गराउने उद्देश्यले यसो गर्न लागिएको प्रा.लि.को भनाइ छ ।
पञ्चकोशीले भोलिदेखि काठमाडौं, बाँकेको नेपालगञ्ज, दैलेख बजार, दैलेखको दूल्लु, कालिकोट, जुम्ला, मुगुलगायतका रुटमा सेवा शुरु गर्नेछ ।
योसँगै अब सुर्खेतबाट यातायात सेवा प्रदान गर्ने समिति र प्रा.लि.गरी एक दर्जन पुगेका छन् । यातायातसम्बद्ध निकायहरुले सहज, सुलभ एवं सुरक्षित यात्राको प्रतिवद्धतासहित सेवा प्रदान गर्ने भनिए पनि यात्रुमैत्री सेवा दिन नसकेको गुनासो भने व्याप्त छ ।
प्रकाशित मितिः May 4, 2019 at 8:52 pm























कर्मसञ्चार । २०७६ वैशाख २१ गते शनिवार