समायोजनले अस्पताल रितै, प्रदेश सरकारको योजनामा धक्का

 

कर्णाली प्रदेश अस्पतालको नवनिर्मित भवन ।

सुर्खेत, १८ वैशाख ।
कहिल्यै दरवन्दी अनुसारको विशेषज्ञ चिकित्सक नपाएको कर्णाली प्रदेश अस्पताल यतिबेला विशेषज्ञ डाक्टरविहीन भएको छ । कर्मचारी समायोजनले सुर्खेतस्थित प्रदेश अस्पताल रितै भएको हो ।

३० जना विशेषज्ञ डाक्टरको दरवन्दी रहेको अस्पतालमा हालकार्यरत ११ जना डाक्टरमध्ये ९ जनाले संघ र अन्यले प्रदेश रोजेपछि अस्पताल विशेषज्ञविहीन भएको छ । भएका चिकित्सक समायोजनका कारण बाहिरिएपछि अस्पतालले प्रदान गर्ने सेवा प्रभावित हुन पुगेको छ ।

कर्णाली नै रोजेकालाई पनि बाहिर पारिएपछि अस्पतालको अप्रेसन थिएटर, आईसीयु, एनआइसीयु र डाईलासिस कक्षबन्दहुने अवस्थामापुगेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर खड्काले प्रदेश अस्पताल समायोजनको मारमा परेको बताए । केही दरबन्दी र विकास समितिबाट गरी ११ जनाले सेवा प्रदान गर्दै आएका थिए,’ मेसु खड्काले भने, ‘अहिले दुई जना चिकित्सकले अस्पताल धान्नु परेको छ ।’ डाक्टर आउन नचाहने कर्णालीमा त्यसैमाथि यहीँ बस्न चाहनेलाई समेत संघ र अन्य प्रदेश पारिएको मेसु खड्काले आरोप लगाए । सरकार कर्णालीवासीको स्वास्थ्य सेवाप्रति गम्भीर नभएकै कारण यस्तो अवस्था आएको उनको भनाइ छ ।

अहिले कार्यरत ११ तहका डाक्टर मात्र होइन नर्सिङ्ग अधिकृत, सिनियर अहेव, अहेव नर्सलगायतलाई पनि स्थानीय तहमा पारिएपछि अस्पतालको सेवा प्रभावित भएको हो ।

कर्णाली नै रोजेकालाई पनि बाहिर पारिएपछि अस्पतालको अप्रेसन थिएटर, आईसीयु, एनआइसीयु र डाईलासिस कक्ष बन्द हुने अवस्थामा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

२०६२ सालमा जिल्लाबाट स्तरोन्नति गरी क्षेत्रीय अस्पतालका रुपमा स्थापना भएको अस्पतालले विगतदेखि नै विशेषज्ञ डाक्टरको अभाव झेल्दै आएको छ । दरबन्दी अनुसार डाक्टर नहुँदा विकास समितिबाट गुजारा चलाएर विरामीको उपचार गर्दै आएकोमा समायोजनका कारण स्वास्थ्य सेवा थप प्रभावित हुने देखिएको छ । अस्पतालमा अहिले छात्रवृत्ति करारका सात, विशेषज्ञ सेवा विस्तारका चार र सामाजिक विकास मन्त्रालयको सहयोगमा १० जना मेडिकल अधिकृत कार्यरत छन् ।

पूर्व मन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कंडेलले जनशक्तिको अभाव झेल्दै आएको अस्पताललाई समायोजनले पनि थप मारमा पारेको बताए । प्रदेशकै शिक्षण अस्पतालका रुपमा विकास गर्न लागिएकोमा समायोजनले प्रत्यक्ष असर पर्ने देखिएको भन्दै उनले यसबारे संघीय सरकारले गम्भीर भएर सोच्नुपर्ने औंल्याए ।

प्रदेश सरकारको योजनामा धक्का

केन्द्र सरकारको मातहत रहेको यस अस्पताललाई गत कात्तिकमा प्रदेश सरकारले आफू मातहत ल्याई प्रदेश अस्पताल बनाएपछि विशेषज्ञ स्वास्थ्य सेवा दिने घोषणा भयो । अस्पतालाई तीन सय शय्याको बनाइ कर्णालीवासीलाई सहज रुपमा स्वास्थ्य सेवा दिने प्रदेश सरकारको योजनामा समायोजनले धक्का पुगेको छ ।

सामाजिक विकास मन्त्री दल रावलले तीन सय शय्याको अस्पताललाई आवश्यक स्वास्थ्य उपकरणका लागि तत्काल ४० करोड बजेट छुट्याएको पनि बताए । तर समायोजनपछि अस्पतालमै डाक्टर नहुने भएपछि प्रदेश सरकारको योजनामा निराशा छाएको उनको भनाइ छ । ‘अकालमै ज्यान गुमाउनुपर्ने कर्णालीवासीको स्वास्थ्यप्रति हामी गम्भीर छौँ,’ उनले भने, ‘अस्पतालका लागि ८८ करोड आवश्यक परे पनि हामीले हालका लागि ४० करोड छुट्याएका छौँ ।’

निर्माणाधीन तीन सय शय्यको अस्पतालबाट विशेषज्ञ सेवा दिन डाक्टर तथा कर्मचारी जुटाउने विषयमा पनि सरकारले योजना बनाइरहेको उनले सुनाए । तर केन्द्र सरकारले समायोजनका क्रममा कर्णालीको स्वास्थ्य सेवालाई प्राथमिकतामा नपारेर असहयोग गरेको उल्लेख गरे । ‘एक त हामीकहाँ डाक्टर छैनन्,’ उनले भने, ‘शय्यामात्रै बढाएर भएन डाक्टर पनि त चाहियो कर्णालीलाई ।’ विशेषज्ञ नभएको अस्पतालमा डाक्टर थप्नुपर्नेमा संघीय सरकारले झन् भएकालाई पनि बाहिर पारेर योजनामा बाधा पुर्‍याएको उनको भनाइ थियो ।

प्रकाशित मितिः   May 1, 2019 at 6:12 pm 


  • प्रतिक्रिया दिनुहोस्