
सुर्खेतः कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा तुइनमुक्त प्रदेश बनाउने नीति लिएको छ । सरकारले जोखिमपूर्ण यात्रा रोक्न तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागेको हो । सोहीअनुसार प्रदेशभर रहेका तुइनको तथ्याङ्क सङ्कलन गरिएको छ । पछिल्लो विवरणअनुसार प्रदेशका १० मध्ये सात जिल्लामा ५० वटा तुइन भेटिएका छन् । तुइन हटाएर ती स्थानहरुमा झोलुङ्गे पुल बनाउने योजनाका साथ केही दिन पहिले सरकारले विवरण माग गरेको थियो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार सङ्कलन भएको विवरणमा सबैभन्दा धेरै तुइन हुम्लामा रहेका छन् । हुम्लामा १५ वटा तुइन रहेको बताइएको छ । यस जिल्लामा कर्णाली नदीमाथि मात्रै छ वटा तुइन छन् ।

तुइन धेरै हुने दोस्रो जिल्लामा कालीकोट रहेको छ । कालीकोटमा १२ वटा तुइन रहेको विवरणमा उल्लेख छ । यस्तै, जाजरकोटमा १२, सुर्खेतमा आठ, डोल्पामा तीन, दैलेखमा दुई र मुगुमा दुई वटा तुइन रहेको विवरण मन्त्रालयमा प्राप्त भएको हो । प्रदेशका तीन जिल्ला दैलेख, जुम्ला र रुकुम पश्चिमबाट तुइनको विवरण प्राप्त नभएको बताइएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा कर्णाली सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने शीर्षकमा एक करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
भौगोलिक विकटताका कारण खोलाखोल्सी तथा ठूला नदी तर्न तुइनको प्रयोग हुँदै आएको छ । पछिल्ला वर्षहरूमा तुइन विस्थापित गर्ने योजनालाई अभियानकै रूपमा अघि बढाइएपनि अझै कतिपय स्थानमा मानिसहरू तुइनमार्फत नदी तर्न बाध्य छन् ।
प्रकाशित मितिः July 22, 2025 at 12:01 pm


कर्मसञ्चार । २०८२ साउन ६ गते मंगलवार