विचार

आत्मनिर्भर पार्टी निर्माणको सवाल

राजनीतिक दलहरूलाई आफ्नो प्रशासनिक कार्यसञ्चालन, अधिवेशन, प्रशिक्षण, अभियान तथा कार्यक्रमका लागि आर्थिक स्रोतको खाँचो पर्दछ । आर्थिक स्रोतको उचित व्यवस्थापनविना कुनै पनि गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन सकिदैन । राजनीतिक दलहरूको कोष, आम्दानी र खर्च नै राजनीतिक वित्त हो । यसैलाई मध्यनजर गर्दै हाम्रो पार्टी नेकपा (एमाले) ले पार्टी संगठन परिचालन अन्तर्गत कोषलाई बलियो बनाउने र त्यसलाई प्रभावकारी तरिकाले परिचालन गर्नुपर्ने नीति लिएको छ । पार्टीले सदस्यहरूबाट उठ्ने लेबी र सम्भावित आय–स्रोतका आधारमा खर्चको कार्यक्रम तयार पारेर व्यवस्थित रूपमा पार्टी गतिविधिहरू अघि बढाउने योजना बनाएको छ । आर्थिक स्रोतको व्यवस्थापन र परिचालन सही ढङ्गले नहुँदा कतिपय कमिटीहरू ऋणमा डुबेको सन्दर्भहरूको समीक्षा गरी पार्टी कोषलाई बलियो बनाउँदै त्यसको प्रभावकारी परिचालनमा जोड दिने नीति अवलम्बन गरिएको छ ।

बलियो र भरपर्दो कोष निर्माणका लागि अर्को महत्वपूर्ण पक्ष भनेको पार्टीलाई आत्मनिर्भर बनाउनु हो । प्रत्येक कमिटीहरूले ठोस कार्ययोजनासहित कार्यकर्ता र पार्टीपंक्तिलाई उत्पादनमूलक क्षेत्रसँग जोड्ने योजना बनाइ कार्यान्वयनमा जोड दिनुपर्दछ । खासगरी पार्टीले उत्पादक शक्तिको विकासमा जोड दिँदै उद्यमशीलताको अभियान नै थाल्नुपर्ने देखिन्छ ।

पछिल्ला वर्षहरूमा मुलुकको अर्थतन्त्रमा देखिएको समस्याले अन्य क्षेत्रजस्तै पार्टीका आर्थिक स्रोतहरू पनि कमजोर बनेका छन् । यस्तो अवस्थामा पार्टीका आन्तरिक स्रोतहरूलाई थप व्यवस्थित गरेर पारदर्शीता कायम गर्नुपर्ने हुन्छ । बलियो र भरपर्दो कोष निर्माणका लागि अर्को महत्वपूर्ण पक्ष भनेको पार्टीलाई आत्मनिर्भर बनाउनु हो । यसर्थ, पार्टीलाई उत्पादनसँग जोड्ने नीति र योजनालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने अहिलेको मुख्य आवश्यकता हो । प्रत्येक कमिटीहरूले ठोस कार्ययोजनासहित कार्यकर्ता र पार्टीपंक्तिलाई उत्पादनमूलक क्षेत्रसँग जोड्ने योजना बनाइ कार्यान्वयनमा जोड दिनुपर्दछ । खासगरी पार्टीले उत्पादक शक्तिको विकासमा जोड दिनु जरूरी रहेको छ । पार्टीले अब उद्यमशीलताको अभियान नै थाल्नुपर्ने देखिन्छ ।
मुलुकको समग्र विकास तथा आर्थिक समृद्धिका लागि उद्योगहरूको स्थापना, सञ्चालन र व्यवस्थापन गर्नुपर्ने हुन्छ । बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा जुटिरहदा हाम्रो पार्टीले कार्यकर्तालाई पार्टी प्रशिक्षणसँग इलममा जोड्ने योजनालाई पनि सँगसँगै लैजान आवश्यक छ । किन कि स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण आजको मुख्य आवश्यकता हो । पार्टीका हरेक नेता–कार्यकर्ता इलम तथा उद्यमशीलताको अभियानमा सक्रिय बन्न सके उनीहरूले पार्टीमा पनि योगदान गर्न सक्दछन् । सबै नेता–कार्यकर्ताले कानूनको अधिनमा रही चाहेको उद्योगधन्दा सञ्चालन गर्न सक्छन् । उद्यमी र उद्योग स्थापना गरेमात्रै राष्ट्रिय पुँजीको विकास गर्न सकिन्छ । यसरी नेता र कार्यकर्ताको आम्दानी बढ्नु भनेको पार्टीको आर्थिक स्रोत सुनिश्चित हुनु पनि हो ।
पार्टी संगठन परिचालनलाई प्रभावकारी बनाउन आर्थिक स्रोत अपरिहार्य छ । सीमित स्रोत–साधनले पार्टी संयन्त्र परिचालन एवम् पार्टी गतिविधिलाई जनताका बीचमा प्रभावकारी रूपमा लैजान चुनौतीहरू छन् । पार्टी गतिविधिहरू आर्थिक अभावकै कारण प्रभावित हुनुहुँदैन भन्नेमा हामी सबै सचेत हुनुपर्दछ । यसर्थ, पार्टीको वित्तीय स्रोत व्यवस्थापन गर्न आम्दानीका भरपर्दो, स्थायी तथा दिगो आधारहरू खोजि गर्नुपर्ने अहिलेको आवश्यकता हो । पार्टीको आय–व्यय तथा दायित्वलाई नियमित, व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन हामी सबैको उत्तिकै महत्वपूर्ण भूमिकाका साथै संकल्प आवश्यक पर्दछ ।
राजनीतिक दल र दलका संगठनहरुले नियमित आफ्नो आय–व्यय विवरण सार्वजनिक गर्ने नैतिकता प्रदर्शन गर्न सक्नुपर्दछ । हामीले पार्टीका नियमित गतिविधि हुन वा चुनावमा हुने खर्च मितव्ययी बनाउनेतर्फ ध्यान दिनुपर्दछ । राजनीतिक दलहरूको आय–व्ययसम्बन्धी वार्षिक विवरणलाई लिएर जनताबाट प्रश्न उठ्ने वातावरण बनाउनु राम्रो हुँदैन । हाम्रा वार्षिक प्रतिवेदनहरू आमकार्यकर्ता र जनताले विश्वास गर्ने खालका हुनुपर्दछ । हो, राजनीति गर्न पैसा अनिवार्य चाहिन्छ । तर त्यसको पारदर्शीमा ख्याल गरिएन भने पार्टी र नेताहरुको विश्वसनीयता पनि घट्दै जान्छ ।

एमाले सुर्खेतले पार्टीका नेता–कार्यकर्ताहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले ग्रामीण क्षेत्रसम्म कृषि, फलफूल, पशुपालनजस्ता व्यवसायलाई प्राथमिकतामा राखेर सोहीअनुसार पार्टीपंक्तिलाई त्यस्ता गतिविधिमा जोडिन अनुरोध गरेको छ ।

अगुवा नेता तथा कार्यकर्ताले जनताको विश्वास जित्नका निम्ति जसरी आफ्नो जीवनशैली, आचरण र व्यवहारलाई व्यवस्थित गर्नुपर्दछ त्यसैगरी आर्थिक आचरणलाई पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । हरेक कार्यकर्ताले उत्पादनमूलक क्षेत्रमा जोड दिने र आफ्नो आम्दानीको केही हिस्सा पार्टी कामका लागि खर्च गर्नसक्ने हैसियत निर्माण गरियो भनेमात्रै हामीमाथि जनताको विश्वास बढ्दछ । यसरी पार्टी गतिविधिमा लााग्दा आर्थिक पारदर्शीता माथि प्रश्न उठ्ने ठाउँसमेत रहदैन । हामीले आफूभित्र पारदर्शी र उत्तरदायी संस्कृतिको विकास गर्नु पनि जरूरी छ ।
एमाले सुर्खेतले पार्टीका नेता–कार्यकर्ताहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले रोजगारीको सिर्जना गरी ग्रामीण क्षेत्रसम्म कृषि, फलफूल, पशुपालनजस्ता व्यवसायलाई प्राथमिकतामा राखेर सोहीअनुसार पार्टीपंक्तिलाई त्यस्ता गतिविधिमा जोडिन अनुरोध गरेको छ । एमालेको मुख्य आम्दानीको स्रोत भनेकै लेबी र सदस्यता शुल्क हो । यसलाई व्यवस्थित गरेकै कारण हाम्रो पार्टीका गतिविधि अन्य दलकाभन्दा बढी प्रभावकारी बनेका हुन् । एमाले सुर्खेतले आर्थिक स्रोत व्यवस्थापनका लागि वार्षिक कार्ययोजना बनाएको छ, जसमा समेटिएका मुख्य बुँदाहरू यस्ता छन्ः–

– राजनीतिक मनोनयन, जनप्रतिनिधि र पार्टी कमिटीमा रहेका सदस्यहरूले नियमित रूपमा लेबी तिर्ने व्यवस्थालाई अनिवार्य गर्ने ।
– सबै कमिटीका आर्थिक गतिविधि पारदर्शी र खर्च मितव्ययी बनाउन अभिलेखहरू दोहोरो लेखा प्रणालीमा राख्ने । त्यसका साथै, आन्तरिक र अन्तिम लेखापरीक्षण तोकिएको समयमा अनिवार्य गर्ने ।
– पार्टीद्वारा सञ्चालित अभियानहरूमा आर्थिक सहयोग गर्ने व्यक्तिहरूको विवरण अभिलेखमा राख्ने ।
– आर्थिक कार्ययोजनामा जिल्ला मातहतका पालिका एवम् नगर कमिटीलाई लेबी तोक्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउने ।
– नियमित रूपमा पार्टीका गतिविधिहरू सञ्चालन गर्न थप आर्थिक स्रोतको खोजी गर्ने ।

लेखक, एमाले सुर्खेतका सचिव एवम् आर्थिक विभाग प्रमुख हुन् ।

प्रकाशित मितिः   July 30, 2025 at 8:45 am 


  • प्रतिक्रिया दिनुहोस्