सबैलाई रुवाएर यसरी अस्ताए रवीन्द्र (फोटोफिचर)

पोखरा, १७ फागुन ।
ताप्लेजुङको पाथिभरामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ।
ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा भएको सो हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो।

उनीहरुको शव बिहीबार मात्रै काठमाडौँ ल्याइएको थियो। बिहीबार पोस्टमार्टमपछि शुक्रबार बिहान दुर्घटनाका मृतक सातै जनाको पार्थिव शरीर सामूहिक श्रद्धाञ्जलीका लागि काठमाडौँको टुँडिखेलमा राखिएको थियो।

सामूहिक श्रद्धाञ्जलीपछि अपरान्ह मन्त्री अधिकारीको शव पोखरा लगिएको थियो। जिल्ला पार्टी कमिटि र परिवारको आग्रहमा उनको शव पोखरा लगिएको हो। श्रद्धाञ्जलीका लागि मन्त्री अधिकारीको शव पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको थियो। श्रद्धाञ्जलीपछि नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा गरिएको र सो शवयात्रामा नेकपाका नेता कार्यकार्ताका साथमा सयौं सर्वसाधारण, आफन्त र सुभचिन्तकको सहभागिता रहेको थियो।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिनका लागि गण्डकी प्रदेशका सबै जिल्लाका नेकपाका नेता कार्यकर्ताका साथमा सुभेच्छुकहरुको ठूलो मात्रामा उपस्थिति रहेको थियो। श्रदाञ्जली सभामा सहभागी आफन्त तथा सुभचिन्तक दुःखी र निरास देखिन्थे भने नेकपाका नेता तथा कार्यकर्ताका पनि आँखा रसाइरहेका देखिन्थे।

कास्कीको भरतपोखरीमा जन्मिएका अधिकारी विद्यार्थी कालबाटै राजनीतिमा प्रवेश गरेका हुन। अनेरास्ववियुको कास्की अध्यक्ष हुँदै, पीएन क्याम्पसको स्ववियु सभापति, अनेरास्ववियुको कृन्द्रीय अध्यक्ष हुँदै हाल नेकपाको केन्द्रीय सदस्य रहेका थिए।

श्रदाञ्जलीपछि मन्त्री अधिकारीको रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ। सो अवसरका नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो।

मन्त्री अधिकारीको शवमा उनका जेठा छोरा विराज अधिकारीले दागवत्ती दिएका छन्।

शब्द/तस्वीरः नेपालखबरबाट

प्रकाशित मितिः   March 1, 2019 at 6:52 pm 


  • प्रतिक्रिया दिनुहोस्