बबईमा इन्भेस्टमेन्ट बैंकको एक्स्टेन्सन काउण्टर

सुर्खेत, १५ फागुन ।
बर्दियाको बाँसगढी नगरपालिका–१ बबईका दोर्जे शेर्पा होटल व्यवसायी हुन् । शेर्पा होटल सञ्चालन गरेर उनले राम्रै आम्दानी गरेका छन् । तर, आफ्नो गाउँमा बैङ्क नहुँदा रकम जम्मा गर्न, पठाउन र झिक्नका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता थियो ।

‘बबईमा ७० भन्दाधेरै होटल र पसलहरु छन्, यहाँ बैङ्क नहुँदा रकम जम्मा गर्न, पठाउन र झिक्नका लागि कोहलपुर, नेपालगञ्जलगायतका ठाउँमा जानुपर्ने बाध्यता थियो’ उनले भने, ‘अव घर नजिकै बैङ्क आएको छ, सजिलो हुने भयो ।’
बबई नदीले सुर्खेत र बर्दियालाई छुट्याएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैङ्कले बुधबारदेखि बबईमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेत शाखा अन्र्तगत रहने उक्त एक्सटेन्सन काउण्टरको बैङ्कका कर्णाली प्रदेश प्रमुख सुरजजंग थापाले उद्घाटन गरे । ‘एउटा ठाउँमा काउण्टर राखेर दुई जिल्लाका नागरिकहरुलाई सेवा दिन पाउँदा हामी खुशी भएका छौं’ थापाले भने, ‘अव पैसा राख्न, झिक्न र पठाउन दिनभरीको समय लगाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौं ।’

बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोबाइल बैंकिङजस्ता बैंकिङ्ग कारोबार गर्न पनि यहाँका नागरिकलाई सहयोग पुग्नेछ । एक्स्टेन्सन काउण्टरले स्थानीय मात्रै होइन्, राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा कार्यरत करिव एक हजारभन्दी बढी स्वदेशी तथा विदेशी कामदारहरुलाई पनि सहज हुने छ ।

बैङ्कका सुर्खेत शाखा प्रमुख कृष्णराज जोशीले कर्णाली प्रदेशको राजधानी प्रवेश गर्ने मुख्य नाका भएकाले पनि एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याइएको बताए । ‘बर्दिया र सुर्खेतका नागरिकले एउटै काउण्टरबाट बैंकिङ्ग सुविधा पाउनुका साथै बचत गर्ने बानीको पनि विकास हुने अपेक्षा हामीले गरेका छौं’ शाखा प्रमुख जोशीले भने, ‘बैङ्कले दिने सम्पूर्ण सुविधाहरु एक्स्टेन्सन काउण्टरबाटै उपलब्ध गराउँछौं ।’

इन्भेष्टमेन्ट बैङ्कले देशभर ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजस्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १ सय १० वटा एटीएम तथा ३ हजार ६ सय ६५ वटा मेसिनबाट सेवा दिइरहेको छ ।

प्रकाशित मितिः   February 27, 2019 at 6:46 pm 


  • प्रतिक्रिया दिनुहोस्