
सुर्खेत, १७ माघ ।
मोसो दलेको विरोधमा मालपोत कार्यालय सुर्खेतका कर्मचारीले ‘पेनडाउन’ गरेका छन् । सहकर्मीलाई मोसो दलेको विरोधमा यहाँका कर्मचारीले ३ घण्टा सेवा रोकेका हुन् । हिजो (बुधबार) मालपोत कार्यालय सुर्खेतका नायब सुब्बा नरबहादुर घर्तीलाई अज्ञात समुहले कार्यकक्षमै मोसो दलेको थियो ।
सेवाप्रवाहका क्रममा राष्ट्रसेवक कर्मचारीमाथि अमानवीय कार्य भएको भन्दै निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सुर्खेतले घटनाको भत्सना गरेको छ । बिहीबार विज्ञप्तीमार्फत ट्रेड युनियन सुर्खेतले घटनाको भत्सना गरेको हो ।
यस्ता घटनाले कर्मचारीको मनोबल कमजोर हुनुका साथै छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा गम्भीर असर पर्ने विज्ञप्तीमा उल्लेख छ । ‘अमानवीय एवं अभद्र व्यवहार गर्ने दोषीमाथि कडा कारबाहीको माग गर्दछौं,’ आधिकारीक ट्रेड युनियनले जारी गरेको विज्ञप्तीमा भनिएको छ । युनियनले राष्ट्रसेवक कर्मचारीको जीउ ज्यानको सुरक्षा र भयरहित रुपमा काम गर्ने वातावरण तयार गरिदिन सम्बन्धित पक्षहरुलाई अनुरोधसमेत गरेको छ ।














कर्मसञ्चार । २०७५ माघ १७ गते बिहीवार