कोभिड संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा

सुर्खेतः कोरोना भाइस (कोभिड–१९) संक्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरू गरिएको छ । ‘कोभिड–१९ सेल्फ हेल्प समूह सुर्खेत’ले सोमवार(आज)देखि अक्सिजनसहितको एम्बुलेन्स सेवा सञ्चालन गरेको हो । समूहले एम्बुलेन्ससहित १० वटा मेडिकल अक्सिजन सिलिण्डर प्रदेश आयुर्वेद औषधालयलाई हस्तान्तरण गरेको छ । कोभिडका बिरामीलाई निःशुल्क सेवा दिने गरी औषधालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको समूहका नेतृत्वकर्ता सुदीप पुरीले बताए ।

औषधालयले कोभिड संक्रमितको उपचारका लागि अहिले अक्सिजन सहितका १५ वेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । औषधालय प्रमुख डा. शंकर रिजालका अनुसार त्यहाँ अहिले पाँच जना संक्रमित उपचाररत छन् । सामाजिक अभियान्ताहरूको समूहले सहयोग गरेपछि अस्पतालले अब निःशुल्क रुपमा २४सै घण्टा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने भएको डा.रिजालले बताए । एम्बुलेन्स सेवा लिन ०८३–५२०३९९, ९८४८१०६३०३ र ९८६८९०६००० मा सम्पर्क गर्न सकिने छ ।

अभियन्ताहरूको उक्त समूहले केही दिनभित्रै नयाँ एम्बुलेन्स खरिद गरी सेवा विस्तार गरिने समेत बताएको छ । झण्डै दुई साता अघिदेखि सुरू भएको अभियानले कोरोना संक्रमितको उपचारमा आवश्यक अक्सिजन सिलिण्डर, संक्रमित र कुरुवालाई भोजन लगायतको व्यवस्थापन गर्दै आएको छ । सहयोगी दाताहरूबाट रकम संकलन गरी अभियानकर्ताहरूले अस्पताल र संक्रमितहरूलाई सहयोग गरिरहेका छन् ।

अभियानका लागि देश–विदेशबाट सयौं व्यक्तिहरूले आर्थिक सहयोग गरिरहेका छन् । हालसम्म करिब ६ लाख रुपैयाँ संकलन भइसकेको जनाइएको छ । सेल्फ हेल्प समूह कोरोना सक्रमित बिरामीको उपचारमा सहयोग गर्ने उद्देश्यले विभिन्न पेशा व्यवसायमा आवद्ध सुर्खेतका युवाहरूले सञ्चालन गरेको अभियान हो । उक्त अभियानमा पत्रकारद्वय सुदीप पुरी, मिलन श्रेष्ठ, सामाजिक अभियन्ता धर्मराज आचार्य र खगेन पुरी आवद्ध छन् ।

प्रकाशित मितिः   May 10, 2021 at 10:32 pm 


  • प्रतिक्रिया दिनुहोस्