
सुर्खेत, १७ माघ ।
सरकारको विरोधमा सडक आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चढ्ने गाडीमा माफिया सरकार मुर्दावाद लेखेर विरोध जनाएका छन् । आज वीरेन्द्रनगरमा नेविसंघ सुर्खेतले मुख्यमन्त्री शाहीको पार्किङमा राखेको बा२झ ५७९३ नम्बरको गाडीमा सरकारको विरोध गर्दै माफिया सरकार मुर्दावाद लेखेका हुन् ।
सरकारले संसदबाट जबर्जस्ति चिकित्सा शिक्षा विधेयक पारित गराएको विरोधमा नेविसंघले सरकारी गाडीमा सरकारकै विरुद्ध नारा लेखन अभियान सुरु गरेको छ । नेविसंघले आइतबारबाट सरकार विरुद्ध नयाँ विरोधको शैली सुरु गरेकोे हो ।
मध्यपश्मिाञ्चल विश्वविद्यालयको एक कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री शाहीको पार्किङ्गमा राखिएको गाडीमा सुरक्षाकर्मीहरुलाई छलि विद्यार्थीले माफिया सरकार मुर्दाबाद लेखेर भागेका थिए । सरकारी गाडी तोडफोड गरेर राज्यको क्षति पुर्याउनु भन्दा विरोधको नयाँ शैली अपनाइएको नेविसंघका नेताहरुले बताएका छन् ।
नेपाल बिद्यार्थी संघको केन्द्रिय समितिले तय गरेका विरोधका कार्यक्रम अनुसार सरकारी गाडीलाई बन्देज गर्ने कार्यतालिका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको गाडीमा माफिया सरकार मुर्दावाद लेखिएको नेविसंघ सुर्खेतले जनाएको छ ।
चिकित्सा शिक्षा विधेयकको विरोधमा डा. गोविन्द केसी २२ दिनदेखि अनशनमा रहँदा पनि सरकार मौन रहेको, सरकार अधिनायकवाद र भ्रष्टाचारतर्फ उन्मुख भएको लगायत आरोप लगाउँदै नेविसंघले देशव्यापी विरोधका कार्यक्रम गर्दै आएको छ ।



कर्मसञ्चार । २०७५ माघ १७ गते बिहीवार