सुर्खेत, १८ असोज ।
♦ ईश्वर अधिकारी
अविरल वर्षाले बाढी बोलायो । बाढीले खोला किनारका बस्तीमा दशा ल्यायो । सयौं परिवार घरबारविहीन भए । दर्जनौं आफन्त आँखैअघि बगे, अलप भए ।
थातथलोको नाम निशासान रहेन । जुन दिन बाढीले सुन्दरबस्तीहरू बगर बनायो, त्यसपछि दशैं आएन । चाडवाडको रौंनकता र खुसी पनि हरायो । प्रकृतिले निर्मम र हरामी रूप देखायो ।
कर्णाली प्रदेश राजधानीकै आसपासका त्रिपालमुनी दशैं नआएको आधा दशक बित्यो ।
२०७१ साउन २८ र २९ गते भेरी नदीलगायत सुर्खेतका विभिन्न खोलानालामा आएको भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पु¥यायो । १ सय १५ जनाले ज्यान गुमाए । झन्डै एक हजार परिवार विस्थापित भए । यसबीचमा कैंयन हिउँद बर्खा र धेरै चाडवाड आए–गए । आपत्तमा परेका उनीहरूले सरकारको आड भरोसा पाएनन् ।
अहिले पनि अस्थायी शिविरका भ्वाङ परेका पालको आश्रय छ । हातमुख जोड्नलाई चूल्हो बाल्ने मेसो छैन । गाँस न बास के–को रौंनक, के–को खुसी ।

सुर्खेतको वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्र परिसरमा बाढीपीडित परिवार । (फाइल फोटो)
‘हामी छौं, जाहेजेथा र प्रियजन गुमेको पीडा भुलाउँछौ, नयाँ घर बनाइँन्छ, सुन्दर बस्ती बसाइँन्छ, तिम्रा दिन फर्किन्छन्,’ उतिबेला यस्तै भन्नेको भीड लाग्यो । चुनावताका त्रिपालमै आएर साख्खै बन्ने नेताको नौली भएन ।
तीन वटै तहको चुनावमा हरेक पार्टीका उम्मेदवारहरू यस्तै एजेण्डा र प्रतिबद्धताको पोको लिएर भोट माग्न पुगे । ‘मलाई जिताउनुस् दुःखका दिन सकिन्छन्, नेताले आश्वासन दियो, सरकारले घरबाँस बनाइदिने भन्यो, पत्रकारले उनीहरू बेघरबार भएको समाचार बनायो ।
तर, अहँ !
तीनको शरीरले घाम पानी छेक्ने ओत पाएन । बाढीको घाउँमा अभावै अभावको आँधीहुरीले थप पीडा दियो, लछारपछार पारिरह्यो । न्यायो आँगनमा पारियो घाम ताप्ने पीडितका आशा सपना मात्रै भए ।
उनीहरू अनेकथरी आश्वासनबाट आर्जित भए । सरकारले गलायो, नेताले भुलायो । दुःख र पीडाका बादलले घेरिए, पीरका पहाडले थिचिए । अनि कसरी आवस् यीनका आँगनमा चाडवाड, कसरी होस् शरीरमा उमङ्ग, मनमा रमाइलो ।
पाँच वर्ष बितिसक्दासमेत पुर्नस्थापना नहुँदा बाढीपीडितहरू आक्रोशित छन् । आफ्नो समस्यालाई नेताहरूले भाषणको विषय मात्रै बनाएको आरोप छ । उनीहरूलाई पीडा छ, दुःख लागेको छ । र, त्यहीँ विपत्तीले चाडवाड पनि बिर्साएको छ ।
उनीहरुलाई लाग्दै छ, त्रिपालबाट घर सर्ने दिन यो जुनीमा सायदै आउला ! ‘मान्छेको जिन्दगी आशैआशमा वित्दो रहेछ,’ वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रको शिविरमा कष्टकर दैनिकी भोगिरहेका एक बृद्धले भन्दै थिए, भोक र शोकको पीडा नभोग्नेले के जानुुन्, कसैले केही गरिदेला भन्ने भरोसा लाग्नै छोडेको छ, फेरि पनि आशाको त्यान्द्रो चुटाउन सकिएको छैन ।’
नजिकै प्रदेश सरकारले साइनबोर्ड लगाएको छ, आँगनमा स्थानीय सरकार बसेको छ । यी सरकार बनेकै दुई वर्ष बढी समय भइसकेको छ । प्राकृतिक विपत्ति र त्यसबाट हुने जनधनको क्षतिले सरकारको लापरबाही र लाचारी प्रष्टै देखिने गरेको छ ।
अहिले पनि सुर्खेतका विभिन्न ६ ठाउँमा सयौं बाढीपीडितको त्रिपालकै बास छ । बाढीपहिरो पीडितमध्ये आधालाई मात्रै गएको असारमा प्रदेश सरकारले पहिलो किस्ता राहत भनेर १ लाख ५० हजार रुपैयाँ दिएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेश सरकारले बाढीपीडितका लागि छुट्याएको रकममध्ये ६ करोड रूपैयाँ खर्च नभइ फिर्ता भयो । प्रदेश सरकारले पीडितका लागि रकम खर्च गर्ने कार्ययोजना बनाउन नसक्दाको परिणाम थियो, यो ।
हरेक वर्ष यसरी नै बाढीपीडितको पुर्नस्थापनाका लागि विनियोजित करोडौं रूपैयाँ खर्च हुन नसकेर फिर्ता भइरहेको छ । अहिले पनि प्रदेश सरकारसँग बाढीपीडितको दीर्घकालीन ब्यवस्थापन, पुर्नस्थापना, बस्ती विकासलगायतका विषयमा ठोस कार्ययोजना छैन ।
प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३१ करोड ३५ लाख रुपियाँ छुट्याएको छ । कर्णाली प्रदेश बाढीपहिरो समस्या समाधान उच्च स्तरीय समिति बनाएको छ । कार्ययोजना, समितिको काम गराइको गति र हालसम्मको प्रगति हेर्दा यो समस्या सजिलै पार लगाउन सक्ने छाँट देखिएको छैन ।
पाँच वर्ष बितिसक्दासमेत पुर्नस्थापना नहुँदा बाढीपीडितहरू आक्रोशित छन् । आफ्नो समस्यालाई नेताहरूले भाषणको विषय मात्रै बनाएको आरोप छ । उनीहरूलाई पीडा छ, दुःख लागेको छ । र, त्यहीँ विपत्तिले चाडवाड पनि बिर्साएको छ ।
प्रकाशित मितिः October 5, 2019 at 12:49 pm























कर्मसञ्चार । २०७६ असोज १८ गते शनिवार