देउती नागरिकका गाडी सबै रुटमा सञ्चालन
सुर्खेत, ४ असोज ।
बिहीबार पनि सुर्खेत बसपार्कबाट बाहिरिने धेरै गाडी छुटेनन् । गाडी नपाएपछि सयौं यात्रु अलपत्र परेका छन् । सरकारले जारी गरेको सवारी तथा यातायात व्यवस्था ऐन तेस्रो संशोधनमा भएको व्यवस्थाले चालकहरु मारमा परेको भन्दै केही दिनदेखि चालकको नाममा यातायात क्षेत्रमा संलग्न केही व्यक्तिले गाडी नचलाउने धम्की दिँदै आएका छन् ।
मंगलबारदेखि लामो दूरीमा चल्ने गाडी ठप्प जस्तै बनाइएको छ । दसैँ नजिकिँदै गर्दा हल्लैहल्लाको बन्दले यात्रुहरुलाई भने मर्का पारेको छ । प्रहरी प्रशासनले यातायात सेवा रुचारु गर्न पहल गर्ने क्रममा बिहीबार बिहान सुर्खेत बसपार्कमा बन्द गर्दै हिड्ने एक जनालाई पक्राउ गरेको छ । जवरजस्ति बन्द गर्ने जो कोहीलाई पक्राउ गरी कारबाही गरिने जिल्ला प्रहरी प्रमुख (एसपी) वसन्त रजौरेले बताए । यातायात व्यवसायीले आवश्यक ठाने प्रहरीले गाडी स्कटिङ गरेर पनि गन्तव्यसम्म पु¥याउन सहयोग गर्ने उनले बताए ।
अन्य यातायात प्रालि र समितिका गाडी बन्द भएपनि देउती नागरिक यातायात प्रालिले भने सबै रुटमा गाडी सञ्चालन गरिरहेको छ । प्रालिका अध्यक्ष कमल खड्का (जुनी)ले आफ्नो समितिका गाडी सबै रुटमा निर्वाध रुपमा सञ्चालन भइरहेको बताए । ‘कसको बन्द हो थाहा छैन, हामीलाई कसैले आधिकारीक जानकारी पनि दिएको छैन,’ उनले भने, हल्लै हल्लामा बन्द गर्ने कुरै भएन ।’ यातायात मजदुरको नाममा दादागिरी गर्नेहरुले बन्दको हल्ला गरेर यातायात व्यवसायी र यात्रुहरुलाई त्रसित बनाउने गरेको उनले बताए ।
यातायात मजदुरका एक नेताले भन्छन्, यो आन्दोलन हल्लै हल्लामा भएको छ, हामीले पनि हल्ला सुनेका छौं, तर आन्दोलन हामीले गरेको होइनौँ, सवारी तथा यातायात व्यवस्था ऐनमा हुँदै नभएको कैदको हल्ला गरेर गाडी चालक आन्दोलनमा रहेछन्, तर गाडी नै बन्द गर्ने निर्णय कसले गरेको हो, अनि नेतृत्व कसले लिएको भन्ने पनि थाहा छैन ।’
यस्तो छ व्यवस्था
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा १६१ को उपधारा एकले ज्यान मारेमा हुने सजायको व्यवस्था गरेको छ । कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई मृत्यु भएको खण्डमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।
तर ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई पनि कसूरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुने व्यवस्था राखिएको छ । उपधारा २ ले दुर्घटनाको कारणबाट मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ भन्ने व्यवस्था गरेको छ ।
सरकारले अहिले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था ऐनमा यो दुवै उपधारालाई जस्ताको त्यस्तै राखेको छ । तर धारा १६१ को उपधारा ३ र ४ मात्रै अहिले संशोधन गरिएको छ ।
उपधारा ३ मा कसैको ज्यान जान सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुईहजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो । तर अहिले संशोधित व्यवस्थामा कैद सजाय यथावत राखिएको छ भने जरिवाना बढाएर पचास हजार रुपैयाँ पु¥याइएको छ ।
यस्तै उपधारा ४ मा चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसूर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रूपैयाँ समेत गरिने छ भनेर उल्लेख छ । तर अहिले त्यसलाई बढाएर पचार हजार पु¥याइएको छ ।
यस्तै सोही ऐनको धारा १६२ ले अङ्गभङ्ग भएमा हुने सजायको व्यवस्था गरेको छ । उक्त धाराको उपधारा १ ले कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई अन्धो वा नपुंसक मध्ये जुनसुकै कुरा भए पनि त्यस्तो कार्य बदनियतसाथ गरेको भए सवारी चलाउने व्यक्तिलाई आठ वर्षसम्म कैद र दश हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । तर अहिले संशोधन गरिएको ऐनमा कैद यथावत राखिएको छ भने जरिवाना ३ लाख पु¥याइएको छ । अन्धो वा नपुंसक बाहेक अन्य कुनै अङ्ग बेकम्मा भएमा आठ वर्षसम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना गरिने व्यवस्थालाई बढाउँदै अहिलेको संशोधित ऐनमा जरिवाना बढाउँदै २ लाख पु¥याइएको छ ।
प्रकाशित मितिः September 20, 2018 at 9:55 am



कर्मसञ्चार । २०७५ असोज ४ गते बिहीवार