निःशुल्क वितरण गर्नुपर्ने सोलारबाट गैससले रकम असुलेपछि…..

सुर्खेत, २५ साउन ।
सीमान्तकृत समुदायलाई निःशुल्क वितरण गर्नुपर्ने सोलारबाट एक गैरसरकारी संस्थाले प्रति सोलार ६ सय रूपैयाँ असुलेको छ । लोपोन्मुख, सीमान्तकृत समाज उत्थान नेपाल नामक गैरसरकारी संस्थाले सीमान्तकृत समुदायबाट रुपैयाँ असुलेको हो । संस्थाले सुर्खेतका २२ सय ८५ सीमान्तकृत समुदायका घरधुरीलाई सोलार वितरण गरेको थियो ।

सेवा प्रदायक उक्त संस्थाले गएको असारमा गुर्भाकोट नगरपालिकाको मेहेल्कुनामा आयोजित सोलार वितरण कार्यक्रममा पनि लाभान्वित समुदायबाट विभिन्न बहानामा ६ सय रुपैयाँ असुलेको थियो । त्यहाँ बोटे ३५, राजी २०, कुसुण्डा ५, बादी १००, गाइने १०० र अन्य समुदायका विपन्न गरी २ सय ४० घरधुरीलाई सोलार वितरण गरिएको थियो । निःशुल्क पाउनुपर्ने सोलारबाट रकम असुलेपछि त्यतिबेलै लाभान्वित समुदायले आक्रोश पोखेका थिए ।

सीमान्तकृत तथ्यांक बढी राखेर गैर सीमान्तकृत समुदायलाई सोलार बिक्री गरेको भन्दै स्थानीय दलित सञ्जालले सिम्ता गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा लिखित उजुरी दिएको छ । सिम्ता ६ का दलित सञ्जाल अध्यक्ष खिमबहादुर विकले सीमान्तकृतको नाममा ल्याएर हुने–खाने परिवारलाई बिक्री गरेको पाइएपछि उजुरी दिएको बताए । लोपोन्मुख,सीमान्तकृत समाज उत्थान नेपालले प्रतिसोलारबाट ६ सयका दरले उठाएको रकम १३ लाख ७१ हजार हुन आउँछ ।

गुर्भाकोट–४ का रमेश नेपालीले सीमान्तकृतका नाउँमा यति मोटो रकम उठाएर संस्थाले बदमासी गरेको बताए । संस्थाका अध्यक्ष लालबहादुर राजीले प्रतिसोलार सेटबाट ६ सय रुपैयाँ उठाएको स्विकारे । ‘निःशुल्क वितरण गर्ने कार्यक्रम भए पनि संस्था दर्ता, नवीकरण, वितरण कार्यक्रम, मर्मत खर्चका लागि उक्त रकम लिएका हौं,’ राजीले भने, ‘लाभान्वित सबैलाई संस्थाको साधारण सदस्य बनाउन ६ सय लिने निर्णय भएको हो ।’

प्रकाशित मितिः   August 10, 2018 at 6:04 pm 


  • प्रतिक्रिया दिनुहोस्