प्रहरीले हिरासतमा रहेका आफन्त भेट्न नदिएको आरोप

सुर्खेत, ९ मंसिर ।
सुर्खेत प्रहरीको हिरासतमा रहेका गफार मियाँ, रहिम मियाँ, र साबिर मियाँलाई प्रहरीले भेट्न नदिएको उनीहरुका आफन्तले आरोप लगाएका छन् । चोरीको आरोपमा उनीहरुलाई प्रहरीले हिरासतमा राखेको छ ।

अमर दिप अटो मोबाईल्स ग्यारेजका सञ्चालक भीमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत असोज १ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता गराएका थिए । हराएका भनिएका यी समान साबिर मियाँको पसलमा फेला परेपछि प्रहरीले उनीहरुलाई गत कार्तिक २० गते पक्राउ गरेको हो ।

साबिर मियाँले कवाड समान आफूहरुले अन्य व्यक्तिबाट खरिद गरेको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको आग्रह अनुसार सुर्खेत उद्योग बाणिज्य संघले स्थलगत निरीक्षण गरी खरिद गरेको भनिएको ९९ दशमलब ८ केजी कवाड समानको मूल्य १ हजार ९ सय ९६ रुपैयाँ रहेको जानकारी गराएपनि प्रहरीले सरकारी वकीलको कार्यालयमा नपठाएको उनीहरुको भनाइ छ ।

उनीहरुले ट्याक्टरको पुरानको  इन्जिन पुनःप्रयोगमा नआउने भन्दै उद्योग वाणिज्य संघले कवाड समानको दर रहेको पत्र मंसिर २ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएपनि प्रहरीले यसलाई हटाएर १ लाख २२ हजार बराबरको विगो नयाँ मूल्यसहितको व्यहोरा मंसिर ४ गते सरकारी वकीलको कार्यालयमा पेश गरेको बताएका छन् ।

वकीलको कार्यालयले सुर्खेत उद्योग वाणिज्य संघलाई बुझेर इन्जिन फेरि प्रयोगमा आउने हो या होईन समान के कस्तो अवस्थामा छ, कति मूल्य बराबरको समान छ भनी बुझ्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशनात्मक आदेश जारी गरेको जनाएको छ । सरकारी वकिल कार्यालयले गत मंसिर ४ गते पठाएको पत्रको जवाफ प्रहरीले अहिलेसम्म पनि नपठाएको भन्दै हिरासरतमा रहेकाहरूका आफन्तले दुःखेसो पोखेका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघले भने चलानी नम्बर १४४ को पत्र मंसिर २ गते नै पठाई सकेको जनाएको छ । प्रहरी कार्यालय सरकारी वकीलको कार्यालय बिचको दुरी पाँच मिनेटको अन्तरमा हुँदा समेत आफूहरुको समस्याप्रति प्रहरी गम्भिर नभएको आफन्तको गुनासो छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने प्रक्रियामा रहेको भन्दै केही दिन भित्रै पत्र पठाउने जनाएको छ ।

प्रकाशित मितिः   November 25, 2018 at 11:31 am 


  • प्रतिक्रिया दिनुहोस्