उप्रेतीको पल्ला भारी


सुर्खेत, २७ मंसिर ।
सुर्खेत उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि हुने निर्वाचन मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी निकै बढेको छ । संघको नयाँ नेतृत्वका लागि यही मंसिर २९ गते (शनिवार) निर्वाचन हुँदैछ । आगामी नेतृत्व हत्याउन व्यवसायीहरु दुई टीममा विभाजित भएर प्रतिस्पर्धा गर्दै छन् ।

२२ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ । सयुंक्त उद्योगी–व्यवसायीको प्यानलको नेतृत्व प्रकाश उप्रेतीले र लोकतान्त्रिक व्यवसायी प्यानलको नेतृत्व धन बहादुर रावतले गरेका छन् । अध्यक्षका उम्मेदवार उप्रेती र रावत दुवै वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत हुन् । उप्रेती संघका वरिष्ठ उपाध्यक्ष हुन भने रावत वाणिज्य उपाध्यक्ष ।

सुर्खेत उद्योग वाणिज्य संघको इतिहासमा सधै फरक धारको नेतृत्व गर्ने विष्णु बहादुर शाही र पदम बहादुर शाही मिल्नुलाई पनि व्यवसायी वृत्तमा अर्थपूर्ण तरिकाले हेरिएको छ ।

अहिलेसम्मको चुनावी माहोल हेर्दा उप्रेती प्यानलको पल्ला भारी देखिएको छ । नेपाली कांग्रेस निकट व्यवसायी व्यवसायी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीहरु मिलेर बनेको उक्त सयुंक्त उद्योगी–व्यवसायीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का, वाणिज्य उपाध्यक्षमा प्रवल शाही, उद्योग उपाध्यक्षमा गणेश कुमार बस्नेत, महिला उपाध्यक्षमा बसन्ती कुमारी जिसी (एकता), महासचिवमा कलाधर उपाध्याय (केदार) , कोषाध्यक्षमा गोविन्द पाण्डे र सचिवमा शिवराज अधिकारीको उम्मेदवारी परेको छ ।

उप्रेती नेतृत्वको प्यानललाई संघका पूर्व अध्यक्षहरु साथै सुर्खेतका प्रतिष्ठित व्यवसायीहरुको साथ र समर्थन छ । संघको सर्वसम्मत् नेतृत्व छनौटका लागि लामो समयदेखि कसरत गरिरहेका ‘हेभी वेट’ व्यवसायीहरुले समेत उप्रेतीलाई सहयोग गर्ने घोषणा गरी चुनावी प्रचारमा जुटिसकेका छन् । संघका पूर्व अध्यक्षहरु निरक केसी, सूर्य बहादुर खड्का, विष्णु बहादुर शाही, पदम बहादुर शाही र वर्तमान अध्यक्ष प्रकाश अधिकारीले उप्रेती प्यानललाई सहयोग गरेका छन् ।

यसैगरी व्यवसायी विष्णु बहादुर खड्का, मदन बहादुर खड्का, सुन्दरमान प्रधान र पूर्णचन्द्र सापकोटालगायतको पनि उप्रेती नेतृत्वको संयुक्त उद्योगी– व्यवसायी प्यानललाई समर्थन छ ।

रावत नेतृत्वको लोकतान्त्रिक व्यवसायी प्यानल भने तुलनात्मक रुपमा कमजोर देखिएको छ । आफूहरु आधिकारीक उम्मेदवार भएको दावी बाहेक यो प्यानलसँग देखिने गरी कुनै प्रतिष्ठित व्यवसायी या पूर्व अध्यक्षहरुको समर्थन देखिदैन । रावत प्यानलले आफूहरुलाई नेपाली कांग्रेस सुर्खेतको पूर्ण समर्थन रहेको दावी गरेको छ । यद्यपी, कांग्रेस नेताहरुले भने यस विषयमा मुख खोल्न चाहेको छैन ।

रावत नेतृत्वको लोकतान्त्रिक प्यानलमा कांग्रेस निकट व्यवसायीको एउटा समुह मात्रै छ । यो प्यानलमा वरिष्ठ उपाध्यक्षमा वासुदेव शर्मा, वाणिज्य उपाध्यक्षमा दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा हरि विष्ट, महिला उपाध्यक्षमा कृष्णा कुमारी थापा, महासचिवमा लक्ष्मण कंडेल, कोषाध्यक्षमा भद्र भण्डारी र सचिवमा राम प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

उप्रेती नेतृत्वको प्यानललाई संघका पूर्व अध्यक्षहरु साथै सुर्खेतका प्रतिष्ठित व्यवसायीहरुको साथ र समर्थन छ ।

उप्रेती नेतृत्वको संयुक्त प्यानलमा नेकपा निकटका प्रतिष्ठित व्यवसायीहरु पनि उम्मेदवार बनेकाले जित सहज हुने आँकलन गरिएको छ । खासगरी सुर्खेत उद्योग वाणिज्य संघको इतिहासमा सधै फरक धारको नेतृत्व गर्ने विष्णु बहादुर शाही र पदम बहादुर शाही मिल्नुलाई पनि व्यवसायी वृत्तमा अर्थपूर्ण तरिकाले हेरिएको छ । यी दुवै शाहीले संघलाई व्यवसायीको साँझा संस्था बनाउन आफूहरु एकै ठाउँमा उभिएको बताएका छन् ।

बुधबार सयुंक्त उद्योगी–व्यवसायी प्यानलको उम्मेदवारी घोषणामा बोल्दै संघका पूर्व अध्यक्षद्धय शाहीले संघलाई व्यवसायिक संस्था बनाउन र व्यवसायी एकताका लागि उप्रेती नेतृत्वको सयुंक्त प्यानललाई जिताउन अपिल गरे । ‘यो राजनीतिक रंग नबोकेको व्यवसायीहरुको सयुंक्त टीम हो, नीजि क्षेत्रका समस्या समाधान गर्न संयुक्त उद्योगी–व्यवसायीको टीमको विकल्प छैन– शाहीद्धयको भनाइ थियो ।

यस्तै, संघका वर्तमान अध्यक्ष प्रकाश अधिकारीले सर्वसम्मत् नेतृत्वको प्रयास गरेपनि सफल हुन नक्दा आफूलाई दुःख लागेको बताउँदै निर्वाचनको माध्यमबाट भएपनि सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिए । उप्रेती टीमले आफूहरुलाई सर्वसम्मत् नेतृत्वको पक्षधर ठानेको छ भने रावतको टीम पनि अन्तिम समयसम्म सर्वसम्मत्कै पक्षमा रहेको दावी गर्छ ।

प्रकाशित मितिः   December 13, 2018 at 12:39 pm 


  • प्रतिक्रिया दिनुहोस्