
काठमाडौं । नेकपा (एमाले) संसद् विघटनको विपक्षमा उभिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनाको माग लिएर अगाडि बढ्ने बताएका हुन् । भक्तपुर एमालेले आज गुण्डुमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताए ।
‘समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौंला,’ उनले भने, ‘संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र ? पर्खनुपर्यो फागुन २१ गते ? पर्खनु परेको छैन ।’ प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि उनले विश्वास व्यक्त गरे । ‘हामी अगाडि बढ्ने बेला भएको छ । नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ,’ उनले भने । प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा कांग्रेसको पनि साथ रहने उनले बताए ।
सुशीला कार्कीले प्रधानमन्त्री हुन अडान लिएकाले प्रतिनिधि सभा विघटन भएको प्रशंग उल्लेख गर्दै उनले भने, ‘असंवैधानिक ढंगले संसद् विघटन गरिएको छ । संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त ग¥यो ? कहाँबाट प्राप्त गर्यो ? ।’ संसद् र संविधान जोगाएर विकल्प दिन सवै पक्षमा सहमति भएपनि असंवैधानिक विघटन गरिएको पनि उनको दाबी छ । ‘संविधान र संसद् कायम राखेर निकास खोजौं, त्यसमा त्यति बेलाको निर्णायक तत्वहरूको पनि सहमति थियो,’ ओलीले भने, ‘मसँग कुरा हुँदा संविधान कायम राख्ने संसद् कायम राख्ने र संविधान र संसदभित्रबाट निकास खोज्ने सबैको सहमति थियो ।’ राजनीतिक दलहरूलाई पञ्छाएर वार्ता गर्ने, सरकार बनाउनेदेखि संसद् भंग गर्ने काम गरिएको ओलीले बताए ।
प्रकाशित मितिः October 9, 2025 at 4:07 pm













कर्मसञ्चार । २०८२ असोज २३ गते बिहीवार