
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शासन सत्ताको बागडोर सम्हाल्ने भएकी छन् । जेनजी आन्दोलनको जगमा पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुन लागेको हो । योसँगै नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने करिब निश्चित भएको छ । तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न नसकेपछि मध्यरातिसम्म राष्ट्रपति कार्यालय, शितलनिवासमा बसेको वार्ता निष्कर्षविहीन भएको छ । जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान रह्यो भने पुराना दल र राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्ने कुरामा जोड दिए । नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको नाम प्रस्ताव गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार (आज) बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कार्कीको शपथ ग्रहण पनि आजै गराउने तयारी रहेको शीतल निवास स्रोतले जनाएको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श गरेका थिए । उनले राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरेका हुन् ।
उच्च राजनीतिक स्रोतका अनुसार बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त रूपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको भनेर ओलीलाई जानकारी गराए ।
ओलीले ‘यो संवैधानिक बाटोबाटै गर्न लागिएको हो नि, अरूसँग परामर्श गर्नुभयो’ भनेर सोधेका थिए । राष्ट्रपति पौडेलले ‘संविधानकै बाटो खोज्ने हो र सबैसँग कुरा पनि भइसक्यो’ भने । त्यसपछि ओलीले ‘त्यसो भए ठीकै छ’ भनेको स्रोतले जनाएको छ ।
त्यस्तै राष्ट्रपति पौडेलले अस्पतालमा उपचाररत कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा परामर्श गरे । देउवाले ‘संविधान अनुसार गर्नुस्, मेरो सहमति छ’ भने । राष्ट्रपतिले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने शितल निवासमै बोलाएर भेटे र कार्कीको नियुक्तिबारे परामर्श गरे । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग पनि शितल निवासमै उनले छलफल गरेका थिए । उनले संविधानविदहरूसँग पनि शितल निवासमै बिहीबार अपराह्न ४ बजेदेखि परामर्श गरे । संविधानविद पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली, ललित बस्नेतलाई उनले शितल निवासमा डाकेका थिए । संविधानविदहरूले संसद र संविधान भित्रैबाट नियुक्तिको बाटो खोज्नुपर्ने सुझाए । तर राष्ट्रपतिले अहिले राजनीतिक परिस्थितिका कारण त्यो सम्भव नभएको बताएका थिए ।
प्रकाशित मितिः September 12, 2025 at 11:46 am























कर्मसञ्चार । २०८२ भाद्र २७ गते शुक्रवार