श्यामल सम्मानित, ‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत

सुर्खेत, २१ मंसिर ।
कवि, लेखक तथा साहित्यकार हरिहर अधिकारी ‘श्यामल’लाई कर्णाली साहित्य समाज साधना सम्मान प्रदान गरिएको छ । कर्णाली साहित्य समाजले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको सम्मान तथा कृति पुरस्कार कार्यक्रममा श्यामललाई ताम्रपत्रसहित सम्मान गरिएको हो ।

नेपाली साहित्यका क्षेत्रमा अनवरत रूपमा कविता काव्यसँगै विविध विधामा सिर्जनारत श्यामलको योगदानको कदर गर्दै सम्मान गरिएको समाजले जनाएको छ । तीसको दशकदेखि पत्रकारिता र साहित्य लेखनमा सक्रिय श्यामल हाल राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्षसमेत हुन् ।

यस्तै, कर्णाली साहित्य समाजले महेश थापाको कथाकृति ‘मरीचिका’ लाई ५० हजार राशीको कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गरेको छ । समाजका संरक्षक एवं कथाकार महेशविक्रम शाहले नगद तथा सम्मानपत्रसहित थापालाई पुरस्कार प्रदान गरेका हुन् । कर्णाली साहित्य समाज कृति पुरस्कार कर्णालीकै ठूलो धनराशीको पुरस्कार भएको समाजको दाबी छ ।

यसैगरि, लेखक तथा साहित्यकार बुद्धिसागरलाई २५ हजार राशीको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरेको छ । तीनवटै पुरस्कार तथा सम्मान पहिलोपटक प्रदान गरिएको र आगामी वर्षहरूमा पनि नियमित रुपमा प्रदान गरिने समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले बताए ।

प्रकाशित मितिः   December 7, 2019 at 8:31 pm 


  • प्रतिक्रिया दिनुहोस्