आफ्नैबाट हत्याः कर्णालीमा ८ जना महिला परिवारजनबाटै मारिए

इन्सेकले आयोजना गरेको अन्तरक्रियामा सहभागि अतिथि ।

सन् २०१८ जनवरीदेखि नोभेम्बरसम्म कर्णालीका आठ जना महिलाको परिवारजनबाटै हत्या भएको छ । गत वर्ष १० जना महिलाको आफन्तबाटै हत्या भएको थियो ।

सुर्खेत, २१ मंसिर ।
♦दैलेखको महाबु गाउँपालिका–१ मा आमाले सात वर्षीय बालिका र नौ वर्षीय बालकलाई विष खुवाएर हत्या गरिन् ।

♦रुकुम (पश्चिम) स्थित मुसिकोट नगरपालिका –१४ का शंकर बिष्टले ६ वर्षीय छोरा सूदर्शनको र शारीरिक रुपमा अपाङ्गता भएका १७ वर्षीय भाई गोकर्णलाई खुकुरी प्रहार गरी हत्या गरे ।

♦रुकुम (पश्चिम) कै त्रिवेणी गाउँपालिका–१ का शक्त बहादुर बुढाले ४२ वर्षीया पत्नी इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयम प्रकाश बुढालाई बन्दुक र खुकुरी प्रहार गरी हत्या गरे ।

यी प्रतिनिधिमूलक घटना कर्णाली प्रदेशका विभिन्न जिल्लामा झन्डै एक वर्षको अवधिमा घटेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेख, जाजरकोट रुकुम (पश्चिम) र सल्यानमा भएका ती घटनाको अभिलेख गरेको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयका अनुसार यिनी घटनाका हत्यारा अरु कोही नभै आफ्नै परिवारजन र आफन्त नै हुन् ।

इन्सेकद्धारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशमा मानव अधिकार अवस्था’ विषयक अन्तरक्रियामा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१८ जनवरीदेखि नोभेम्बरसम्म कर्णालीका आठ जना महिलाको परिवारजनबाटै हत्या भएको छ । गत वर्ष कर्णालीमा १० जना महिलाको आफन्तबाटै हत्या भएको थियो ।

इन्सेकले यो वर्ष मानव अधिकार उल्घंनका ३ सय ८७ घटनामा ४ सय ४७ जना पीडित भएको अभिलेख गरेको छ । गत वर्ष ५ सय १६ जना पीडित भएका थिए । यो वर्ष राज्य पक्षबाट भएका मानव अधिकार उल्घंनका १० घटनामा ३४ जना पुरुष र २ जना महिला पीडित भएको इन्सेकले जनाएको छ । अघिल्लो वर्ष राज्य पक्षबाट भएका घटनामा कर्णालीका ८४ जना पीडित भएका थिए ।

गत वर्षको तुलनामा मानव अधिकारको अवस्थामा केही सूधार देखिए पनि यो वर्ष बाल अधिकारका घटना बढेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताए । अघिल्लो वर्ष २८ जना बालबालिका पीडित भएकोमा यो वर्ष ६१ घटनामा ३० बालक र ५५ जना बालिका पीडित भएको उनले जानकारी दिए ।

इन्सेकले जिल्ला प्रतिनिधिमार्फत संकलित, सरोकारवाला निकायसँग गरिएका पूर्व समीक्षा कार्यक्रममा आएका सुझावअनुसार घटनाको पुर्नपुष्टि गर्दै अभिलेख गर्ने गर्दछ । जसका आधारमा इन्सेकले हरेक वर्ष ‘नेपाल मानव अधिकार वर्ष पुस्तक’ प्रकाशन गर्दै आएको छ ।

प्रकाशित मितिः   December 7, 2018 at 6:09 pm 


  • प्रतिक्रिया दिनुहोस्