नेकपा कर्णालीः बस्ला प्रदेश कमिटीको पहिलो बैठक ?

सह–इन्चार्ज सहभागी नहुने

सुर्खेत, २१ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बस्दै छ । नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीमा रहनेहरुको नाम सार्वजनिक गरे लगत्तै बस्न लागेको प्रदेश कमिटी बैठक सफल हुने या नहुनेमा भने शंका गर्न थालिएको छ ।

प्रदेश सह–इन्चार्ज यामलाल कंडेललगायतका नेताले बैठकमा सहभागि नहुने बताएपछि यसले कमिटीको पहिलो बैठकमै ढुङ्गा लाग्ने देखिएको हो । सचिवालयलाई छलेर प्रदेश कमिटीमा सदस्यहरु तय गरिएको भन्दै नेकपाभित्र असन्तुष्टि बढिरहेका बेला प्रदेश इन्चार्ज जनार्दन शर्माको रुचीको कारण मात्रै बैठक बोलाइएको पूर्व एमालेका नेताहरुको आरोप छ ।

पार्टीको सचिवालय बैठकले यही मंसिर १२ गते प्रदेश कमिटीमा रहनेहरुको नाम सार्वजनिक गरेको थियो । सिफारिस भएका नामहरुलाई पार्टीको स्थायी कमिटी र केन्द्रिय कमिटीबाट अनुमोदन गर्नुपर्ने नेकपाको विधानमा उल्लेख भएपनि यी प्रक्रियालाई लत्याउदै हतारोमा बैठक बसाल्न खोजेको आरोप पूर्वएमालेका नेताहरुले लगाएका छन् ।

सचिवालयलाई छलेर प्रदेश कमिटीमा सदस्यहरु तय गरिएको भन्दै नेकपाभित्र असन्तुष्टि बढिरहेका बेला प्रदेश इन्चार्ज जनार्दन शर्माको रुचीको कारण मात्रै बैठक बोलाइएको पूर्व एमालेका नेताहरुको आरोप छ ।

प्रदेश सह–इन्चार्जलगायतका नेता अनुपस्थित रहने भएपछि बैठक बस्नेमा अन्योल देखिएको छ । ‘पार्टीको प्रदेश कमिटीमा चयन भएका सदस्य बारेमा विवाद कायमै रहेको र भएका भनिएकासमेत विधिसम्मत ढङ्गले कमिटीहरुबाट अनुमोदन नभईसकेको अवस्थामा पार्टीको बैठक कसरी हुन्छ ?, नेकपाका एक नेताले भने, ‘सदस्यहरुको नाम स्थायी कमिटी र केन्द्रिय कमिटीबाट अनुमोदन भइसकेपछि सपथग्रहण गर्ने र त्यसपछि मात्रै बैठक बस्छ ।’

नेकपाका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज शर्माले यसअघि समेत कर्णाली प्रदेशको पार्टी जिल्ला कमिटी एकिकरण गर्ने भन्दै रुकुममा पार्टी एकता भेलाको आयोजना गरेका थिए । तर, त्यो भेलालाई पूर्व एमालेका नेताहरुले सहयोग नगर्ने भन्दै पन्छिएपछि अन्तिम समयमा आएर जिल्ला पार्टी एकता भेला स्थगन गरिएको थियो ।

पार्टी एकता भएको ६ महिनापछि प्रदेश कमिटीलाई नेकपाले पूर्णता दिएको छ । तर, फेरिपनि सचिवालयलाई छलेर सदस्यहरु तय गरिएको भन्दै नेकपाभित्र असन्तुष्टि बढेको छ । असन्तुष्टहरुले छुट्टा–छुट्टै भेला नै आयोजना गर्न थालेका छन् । नेकपाको नेतृत्व विधि र प्रक्रियामा नचलेको भन्दै विशेषगरी युवा नेताहरुमा असन्तुष्टि बढी देखिएको छ ।

नेकपाको सांगठानिक गतिविधि कमजोर बन्दा सरकारको कार्यशैली पनि प्रभावित बनेको नेताहरुको टिप्पणी छ । स्थानीय, प्रदेश र संघीय सरकारमा दुई तिहाईसहितको सरकार बनाएको नेकपा नेतृत्वले जनमतको कदर गर्न नसकेको टिप्पणी पार्टीभित्र मात्रै सीमित छैन ।

प्रकाशित मितिः   December 8, 2018 at 11:04 am 


  • प्रतिक्रिया दिनुहोस्