
सवारी चालककाे माेबाइल नियन्त्रणमा लिएर सिडिअाेलार्इ भाेट गर्दै ट्राफिक प्रहरी
बर्दिया, १६ मंसिर ।
बर्दियाको सडकमा गुड्ने सवारी साधनलाई प्रहरीले फरक उद्देश्यले रोक्न थालेको करिब एक हप्ता भएको छ। अपराधी खोजीवनका लागि प्रहरी परिचालन भएको होइन। न त सवारी नियम व्यवस्थित गर्न प्रहरीले गुडिरहेका सवारी राेक्न थालेकाे हाे।
चालकको मोबाइल नियन्त्रणमा लिएर भाेट गर्न प्रहरीले सडकमा गुड्ने सवारी साधनलाई राेक्ने गरेकाे हो। ‘चार–पाँच दिन भइसक्यो मोबाइल खोसेर प्रहरीले आइडलमा भोट गर्ने गरेको छ’, सदरमुकाम गुलरियाका स्थानीय बासिन्दा त्रिदेव घिमिरले भने, ‘अगाडि इन ४ लेखिएको मेसेज ३४००१ मा एसएमएस गरेपछि मोबाइल फिर्ता पाइन्छ।’
सार्वजनिक प्रशासनका इमान्दार, जवाफदेही र कर्तव्यनिष्ठ कर्मचारी छान्न अकाउन्टिबिलिटी ल्याब नामक संस्थाले भोटिङ गराइरहेकाे हाे। भ्रष्टाचारविराेधी र नागरिकमैत्री छवि भएका कर्मचारी छान्न ‘इन्ट्रेगेटी आइडल अवार्ड’का लागि भाेटिङ भइरहेकाे हाे। सार्वजनिक सेवामा कार्यरत कर्मचारीमध्येबाट अकाउन्टिबिलिटी ल्याबले वर्षेनी सरकारी कर्मचारीलाई ‘इन्ट्रिगेटी आइडल अवार्ड’ प्रदान गर्दै आएको छ। इन्ट्रिगेटी आइडलको एसएमएस भोटिङ नम्बर ३४००१ रहेको हो। अकाउन्टिबिलिटी ल्याबकाअनुसार इन्ट्रिगेटी अाइडलमा भाेट गर्ने समय मंसिर १७ गते सोमबार राति १२ बजेसम्म छ।
यो वर्षको इन्ट्रिगेटी आइडलको अन्तिम पाँच प्रतिस्पर्धीमा बर्दियाका प्रमुख जिल्ला अधिकारी सहसचिव रामबहादुर कुरुङबाङ पनि परेका छन्। आफूलाई जिताउन उनले पद तथा शक्तिको दुरुपयोग गर्दै आफू अन्तर्गतका प्रहरी परिचालन गरी दु:ख दिएकाेमा सर्वसाधारण अाकाेशित छन्। जिल्लामा प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रमुख जिल्ला अधिकारी मातहात हुनेगर्छ। जिल्लामा अन्य सरकारी कार्यालयहरूको मुख्य अनुगमनकर्ता पनि सिडिअाे नै हुन्छ।
प्रहरीले ठाँउठाँउमा चेकजाँचका नाममा सवारी चालकदेखि साईकल यात्री र स्थानीय पसलेसम्मको मोबाईल नियन्त्रणमा लिएर भोट गरिरहेको हो। बर्दिया प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण वली नेतृत्वमा रहेको टोलीले भलागौडी नजिक सार्वजनिक बस तथा निजी सवारी साधन रोकी मोबाइल नियन्त्रणमा लिएर भोट गरिरहेको एक स्थानीयले जानकारी दिए। तल्लो तहका एक प्रहरी अधिकृतका अनुसार बर्दिया प्रहरी प्रमुख एसपी सुरेन्द्र मैनालीको निर्देशनमा यो काम भएको हो।
प्रमुख जिल्ला अधिकारीलाई भोट हाल्न यात्रु तथा सवारी चालकलाई सास्ती दिएको विषयमा सामाजिक सञ्जालमा समेत बहस समेत भइरहेको छ। प्रहरी हर्कतबाट पीडित सर्वसाधारणले प्रहरीले सार्वजनिक सावरी साधन रोकेर एसएमएस गरिरहेका तस्विरहरु फेसुबक, ट्विटरमा पोष्ट गर्दै आक्रोश पोखिरहेका छन्।
बर्दियाका प्रहरी प्रमुख एसपी सुरेन्द्र मैनालीले प्रमुख जिल्ला अधिकारीलाई जिताउन प्रहरी परिचालन नभएको दाबी गरे। ‘यो त्यति धेरै गाडी चल्ने जिल्ला पनि होइन। पसल पनि धेरै छैनन्। प्रहरीले त्यसो गर्ने कुरा पनि भएन’, उनले भने। अरु जिल्लामा यस्ताे हर्कत भएकाे हुनसक्ने उनले दाबी छ। प्रमुख जिल्ला अधिकारी कुरुङबाङगको माेबाइल नम्बरमा सम्पर्क गर्न प्रयास गर्दा फरवार्डमा राखिएकाले सम्पर्क हुन सकेन।
नेपालखबरबाट
प्रकाशित मितिः December 2, 2018 at 2:48 pm























कर्मसञ्चार । २०७५ मंसिर १६ गते आइतवार