कर्णालीका सांसद रेग्मी नेपालको प्रतिनिधित्व गर्दै अमेरिका प्रस्थान

सांसद रेग्मी किन गए अमेरिका ?

सुर्खेत, २३ चैत ।
कर्णाली प्रदेशसभाका सांसद धर्मराज रेग्मी अमेरिका प्रस्थान गरेका छन् । ‘ग्लोवल पार्लियामेन्ट्री कन्फिरेन्स’ कार्यक्रममा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै रेग्मी शनिबार दिउँसो अमेरिकाका लागि प्रस्थान गरेका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र द पार्लियामेन्ट्री नेटवर्कको आयोजनामा वासिन्टन डिसीस्थित विश्व बैंक मुख्यालयमा हुने सम्मेलनमा सहभागि हुन आफू अमेरिका प्रस्थान गरेको सांसद रेग्मीले कर्म सञ्चारलाई बताए । उनकाअनुसार अप्रिल ८ र ९ मा हुने सम्मेलनमा विश्वभरबाट छनोट भएका दुई सय सांसद सहभागि हुनेछन् ।

रेग्मी नेपालबाट उक्त सम्मेलनमा सहभागि हुने एक मात्र सांसद हुन् ।

‘यो सम्मेलन पाँचौं संस्करण हो,’ रेग्मीले भने, ‘विश्वव्यापी रुपमा अहिलेको आर्थिक र विकासको मुद्दामाथि विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारी, विज्ञ र सांसदहरुबीच छलफल हुने कार्यक्रम तय भएको छ ।’

सम्मेलनमा आजको नेतृत्व, प्रविधि, मानव स्रोत, जलवायु परिवर्तन लगायतका मुद्दामा विभिन्न प्रस्तुतिहरु रहने उनले जानकारी दिए । सम्मेलनकै क्रममा विश्वका ४५ वर्ष मुनिका सांसदहरुबीच छुट्टै बैठक पनि हुनेछ ।

सांसद रेग्मीले आफू वासिन्टन, न्युर्योक र टेक्सासमा नेपाली समुदायका कार्यक्रममा पनि सहभागि हुने बताए । त्यहाँ रहेका नेपाली समुदायसँग कर्णाली र नेपालमा लगानीबारे छलफल गरिने उनको भनाइ छ । प्रदेशसभा सदस्य रेग्मी नेपालबाट उक्त सम्मेलनमा सहभागि हुने एक मात्र सांसद हुन् ।

प्रकाशित मितिः   April 6, 2019 at 7:08 pm 


  • प्रतिक्रिया दिनुहोस्