सी भ्रमणः कर्णालीलाई हात्ती आयो, हात्ती आयो फुस्सा !

ईश्वर अधिकारी

सुर्खेत, २६ असोज ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार नेपाल–चीन द्विपक्षीय २० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी भ्रमणका क्रममा विकास निर्माणसँग सम्बन्धित विषयले प्राथमिकता पाएपनि कर्णालीलाई भने ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भने झैँ भएको छ । यो भ्रमण विशेषगरी कर्णाली प्रदेशका लागि अर्थपूर्ण मानिएको थियो । तर, नेपाल–चीन २० बुँदे समझदारीमा कर्णाली प्रदेशको विकासका लागि ठोस कुनै बुँदा अट्न सकेन । चर्चाअनुरुप समझदारी भएन ।

सीको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीलाई उच्च प्राथमिकतामा राखिने अपेक्षा भएपनि त्यसो भने हुन सकेन । छिमेकी मुलुक चीनसँग मात्र सीमा जोडिएको कर्णालीले द्विपक्षीय समझदारीमा बढी लाभ आफूले पाउनुपर्ने भन्दै प्रदेश सरकारले यसका लागि उच्चस्तरीय ‘लबिङ’ गर्दै आएको थियो । कर्णाली सरकारले ‘लाइफलाइन’ का रुपमा अघि बढाउन खोजेको ‘सुर्खेत–हिल्सा दु्रतमार्ग’लाई नेपाल–चीन सम्झौतामा समेट्न संघीय सरकारसमक्ष प्रस्ताव गरेको थियो ।

सीको भ्रमणका अवसरमा सुर्खेत–हिल्सा सडक र फुकोट कर्णाली जलविद्युत् आयोजनालगायतलाई समेट्न कर्णाली प्रदेश सरकारको अनुरोध थियो । कर्णालीको विकासका लागि उत्तरी छिमेकी मुलुक चीनसँग सहज यातायात सम्पर्क विस्तार गर्नुको विकल्प नभएको भन्दै कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ लगायतको पटक–पटक ध्यानाकर्षण गराएको थियो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले केही दिन पहिले भनेका थिए, ‘सी भ्रमणका बेला हुने आपसी समझदारीमा प्रदेश राजधानी सुर्खेतबाट उत्तरी नाका हुम्लाको हिल्सासम्म पुग्ने दु्रतमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्न जोड दिएका छौँ ।’

नेपाल–चीन द्विपक्षीय २० बुँदे समझदारी पत्रमा हस्ताक्षर हुनुअघि कर्णाली करिडोरको विषय पनि समेटिने र कर्णालीमा चिनियाँ लगानी भित्रिने सम्भावनाले कर्णालीवासीमा उत्साह थपिएको भएपनि कर्णालीको विकासका लागि ठोस कुनै बुँदामा भने सम्झौता भएन ।

सुर्खेत–हिल्सा सडकका सम्बन्धमा चिनियाँ अधिकारीहरुसँगको पटक–पटकको भेटघाटमा सहभागी कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो चीन भ्रमणमा समेत हिल्सा नाकालाई प्राथमिकता दिएकाले यसपटक मूर्तरुप लिन सक्ने विश्वास व्यक्त गरेका थिए । कर्णाली प्रदेशसँगको नाका विस्तार एवं सञ्चालनमा चिनियाँ पक्ष सकारात्मक हुने उनको अपेक्षा थियो ।

सुर्खेत–हिल्सा सडकलाई प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममै प्रधानमन्त्री दु्रतमार्गका रुपमा निर्माण अघि बढाउने सङ्कल्प गरेको थियो । २०७५ साल वैशाख १ गते रारा–कर्णाली पर्यटन वर्ष उद्घाटनको पूर्वसन्ध्यामा रारामा सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त सडकलाई दक्षिणी नाका (प्रदेश ५ मा पर्ने बाँकेको जमुनाहा) देखि–उत्तरी नाका (हुम्लाको हिल्सा) सम्म प्रधानमन्त्री अन्तर्राष्ट्रिय दु्रतमार्गका रुपमा नामकरण गरी आयोजना अघि बढाउन लगानीको खोजी गरिरहेको थियो ।

प्रधानमन्त्री ओलीको २०७५ साल असार पहिलो साता सम्पन्न चीन भ्रमणमा कर्णाली आर्थिक करिडोर विकासका लागि सम्भाव्य सहयोग गर्न चीन सरकार सहमत पनि भएको थियो । गत वर्ष असोजमा कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चीन भ्रमणका क्रममा त्यहाँको सरकारी टोलीसँग द्रुतमार्ग निर्माणबारे प्रारम्भिक समझदारी भएको थियो । यसपटक राष्ट्रपति सी भ्रमणका एजेन्डामा नेपाल सरकारका तर्फबाट यो सडकले प्राथमिकता पाउने कर्णाली सरकारले अपेक्षा राखेको थियो ।

साथै, सी भ्रमणका अवसरमा कर्णाली र तिब्बतबीचको ऐतिहासिक व्यापारिक सम्बन्धले पुनर्जीवन पाउने कर्णालीवासीको अपेक्षा थियो । सन् १९५० को दशकसम्म तिब्बतसँग कर्णालीको सिधा व्यापारिक सम्बन्ध थियो । तिब्बतमा भएको राजनीतिक परिवर्तनले टुटेको त्यही ऐतिहासिक सम्बन्ध प्रस्तावित हिल्सा–जमुनाह द्रुतमार्गले जोडिने अपेक्षा कर्णालीले गरेको थियो ।

नेपाल–चीन द्विपक्षीय २० बुँदे समझदारी पत्रमा हस्ताक्षर हुनुअघि कर्णाली करिडोरको विषय पनि समेटिने र कर्णालीमा चिनियाँ लगानी भित्रिने सम्भावनाले कर्णालीवासीमा उत्साह थपिएको भएपनि कर्णालीको विकासका लागि ठोस कुनै बुँदामा भने सम्झौता भएन । कर्णाली प्रदेश सरकारको पहलमा द्रुतमार्ग निर्माणदेखि अन्य ठूला आयोजनामा चीन सरकारले समेत हातेमालो गर्ने वातावरण बन्ने अपेक्षा गरिए पनि व्यवहारत सोअनुरुप हुन भने सकेन ।

नेपाल र चीनबीच हिमालय वारपार रेलवेको सम्भाव्यता अध्ययनको सहमतिलगायत महत्वपूर्ण समझदारी भएका छन् । समझदारी कार्यान्वयन भए यसबाट भने कर्णालीले पनि प्रत्यक्ष लाभ लिनेछ । नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार स्वदेश फर्किएका छन् ।

यो पनि पढ्नुहोस्,

https://karmasanchar.com/2019/10/3944/

 

 

प्रकाशित मितिः   October 13, 2019 at 5:53 pm 


  • प्रतिक्रिया दिनुहोस्