
फाईल फोटो
सुर्खेत, २६ कात्तिक ।
यतिबेला कर्णाली प्रदेशका अधिकांश युवा कालापहाडको यात्रामा छन् । कर्णाली राजमार्गमा चल्ने सवारीलाई कालापहाड जाने यात्रु बोक्न ठिक्क छ । गाउँ सुनसान हुँदै गएका छन् । कालापहाड जानु कर्णालीवासीका लागि रहर नभएर बाध्यता हो । आर्थिक अवस्था कमजोर भएका कर्णालीका युवा भारतको सिमला, कालापहाड लगायतका क्षेत्रमा मजदुरी गर्न जाने गर्छन् ।
दसैंतिहारजस्ता ठूला पर्व सकिएसँगै कर्णालीका बस्ती खाली हुन थालेका हुन् । चाडपर्व मान्न आएकाहरू रोजगारी र अध्ययनका लागि ठूला सहर र कालापहाड (भारत) जान थालेपछि गाउँ रित्तिँदै गएका छन् ।
दैलेखको आठबीस नगरपालिका–५ पीपलकोटका बलबहादुर शाही तिहारलगत्तै कामको खोजीमा भारततिर लागे । दसैंतिहार मान्न आएका उनी गहुँ लगाएर भारतको गढवालतर्फ गएका हुन् । पीपलकोट गाउँमा अहिले युवा भेट्न पाइँदैन । ‘गाउँ खाली भइसक्यो’, स्थानीय बलबहादुर शाहीले भने, ‘चाडपर्वमा भरिभराउ हुन्छ, अरू बेला सुनसान ।’ वर्षमा दुई पटक कामका लागि यहाँका अधिकांश युवा कालापहाडतर्फ लाग्छन् ।
कालीकोट शुभकालिका गाउँपालिका–३ गोठीमुलाका २० वर्षीय अक्कल परियार दसंैतिहार मान्न एक महिनाअघि घर आएका थिए । उनीसहितको टोली सुर्खेत–नेपालगन्ज हुँदै भारततर्फ लाग्यो । ‘गाउँघरतिर रोजगारी पाइँदैन । किसानी गर्न पर्याप्त जमिन छैन’, १४ वर्षको उमेरदेखि भारत जान थालेका उनले भने, ‘चार–छ महिना काम गरेर फेरि नयाँ वर्षमा फर्किहाल्छौं ।’ यस प्रदेशका अधिकांश युवा उत्तराञ्चल, हिमाञ्चललगायतका क्षेत्रमा रोजगारीका लागि जाने गर्छन् । दसैंतिहार मानेर गएका युवा नयाँ वर्षम घर फर्कन्छन् ।
जुम्ला सिञ्जाका कर्णबहादुर हमाल कालापहाड यात्राका लागि घर छोड्ने तयारीमा छन् । उनी बर्सेनि कालापहाड जान्छन् । ज्याला मजदुरी गर्छन् । कालापहाडमा कमाएको पैसाले परिवारको लुगाफाटो फेर्छन् । तिहार सकाएर कालापहाड जाने गरेका उनी चैतमा धानको बिउ राख्ने समयमा घर फर्किन्छन् । ‘गाउँमा रोजगारीका अवसर छैनन्, घर बसेर परिवारको खानाखर्च र लत्ताकपडा फेर्न सकिँदैन’, उनले भने, ‘रहरले होइन, बाध्यताले कालापहाडे हुनुपरेको हो ।’
जुम्लाकै तिला गाउँपालिकाका बिर्खबहादुर बुढाले गाउँका अन्य युवासहित तिहारको भोलिपल्टै कालापहाडतर्फ लागे । ‘यहाँ खाली बस्नु भन्दा हिउँदको चार महिना कालापहाडमा काम गर्यो भने नयाँ वर्षमा परिवारका सदस्यको नयाँ लुगा फेर्न पाइन्छ । दुई छाक भए पनि मिठोमसिनो खान पाइन्छ’, उनले भने ।
यी युवा भारतका कुल्लु, मनाली, गढवाललगायतका ठाउँमा सडक, घर तथा होटलमा काम गर्न जान्छन् । दैलेखका अधिकांश घरबाट न्यूनतम एकदेखि पाँच जनासम्म कामका लागि भारत जाने गरेका छन् । रुकुम (पश्चिम) को बाफिकोट गाउँपालिका–६ का रामबहादुर विक दसैंतिहार मनाउन गत असोज २८ गते गाउँ पुगेका थिए । उनीसँगै सोही गाउँका पहलसिंह कुसारी पनि गाउँ आए । दुवै जना एक महिना नबित्दै आइतबार रोजगारीको खोजीमा कालापहाडतर्फ लागे ।
गाउँमा रोजगार नभएकाले घरखर्च चलाउन आफूहरू भारतमा कमाउन जान लागेको रामबहादुरले बताए । उनी वर्षमा एकपटक मात्रै घर आउँछन् । ‘दसैंतिहारका लागि मात्र एक महिना घर आउँछु । बाँकी समय भारतमै रोजगारी गर्छुु’, उनले भने, ‘परिवारको छाक टार्नका लागि अर्काको ठाउँमा मजदुरी गर्नुपर्ने बाध्यता छ ।’ रामबहादुर र पहलसिंहजस्तै यहाँका धेरै पुरुषले रोजगारीका लागि गाउँ छोड्न थालेका छन् । गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारत र अन्य देशमा गएकाले यहाँ युवा भेट्टाउन मुस्किल हुन थालेको बाफिकोट गाउँपालिकाकी शिक्षक धनकुमारी ओलीले बताइन्।
बाफिकोट गाउँपालिका–७ मग्मा डारुगाउँमा पनि वृद्धवृद्धा, महिला र बालबालिका मात्रै भेटिन्छन् । पुरुषहरु अधिकांश गाउँभन्दा बाहिर भएकाले महिलाले नै घरको कामदेखि खेतीपाती र विकास निर्माणका काम गर्नुपर्ने बाध्यता छ । गाउँमा कोही बिरामी पर्दासमेत बोकेर स्वास्थ्य संस्थासम्म लैजान पुरुष नभेटिने सानीभेरी गाउँपालिका–५ मेलचौरकी मनकला पुनले बताइन् । ‘वृद्धवृद्धा, बालबालिका कोही बिरामी भए महिलाले नै बोकेर स्वास्थ्य संस्थामा पुर्याउने गरेका छन्’, उनले भनिन्, ‘आफ्नै ठाउँमा रोजगार नपाउँदा गाउँ रित्तिएका छन् ।’
छैन रोजगारी
कामको खोजीमा भारत जाने युवा स्थानीय सरकारले रोजगारी सिर्जना गर्न नसकेको आरोप लगाउँछन् । ‘स्थानीय तहमा आफूले चुनेका प्रतिनिधि आउँदा गाउँमै राजगारीका अवसर सिर्जना होलान् भन्ने सोचेका थियौं’, आठबीस नगरपालिकाका अर्जुन शाहीले भने, ‘स्थानीय सरकार बेरोजगारलाई रोजगारी सिर्जना गर्नभन्दा आफैं कमाउ धन्दामा लागेका छन् ।’
कालीकोटको शुभकालिका गाउँपालिकाका प्रदीप परियार तीनवटै तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न कालापहाडबाट गाउँ फर्के । उम्मेदवारको भाषण सुन्दा उनलाई अब अर्काको देशमा गएर मजदुरी गर्नुपर्ला भन्ने लागेको थिएन । स्थानीय सरकार गठन भएको डेढ वर्ष पुगिसक्यो । गाउँमा रोजगारीको कुनै सम्भावना नदेखेपछि उनी फेरि पनि कालापहाड जान बाध्य भए ।
‘गाउँगाउँमा सिंहदरबार आयो, रोजगारी पनि पाइएला भन्ने लागेको थियो’, उनले भने, ‘हामी जस्ताका लागि जुन दरबार आए पनि केही नहुने रहेछ ।’ जुम्ला तिला गाउँपालिकाका बिर्खबहादुर बुढा केही वर्षदेखि ग्रामीण सडक निर्माण कार्यमा संलग्न थिए । सिंहदरबारको अधिकार गाउँमा आएपछि अझ धेरै रोजगारीका अवसर सिर्जना हुने उनको विश्वास थियो । विकासका नाममा गाउँमा डोजरको हालीमुहाली भएपछि बुढाको रोजगारी पनि खोसियो । अब उनी कालापहाड जाने तयारीमा छन् । ‘हाम्रा लागि सिंहदरबारको अधिकार गाउँमा आएको रहेनछ’, उनले भने, भएको रोजगारी पनि डोजर मालिकले खोस्दा अर्काको देश जानुपर्ने बाध्यता आइलाग्यो ।’ यहाँका युवाहरूले स्थानीय सरकार रोजगारी सिर्जना गर्नभन्दा भौतिक पूर्वाधार निर्माणतर्फ केन्द्रित भएको आरोप लगाउने गरेका छन् ।
प्रकाशित मितिः November 13, 2018 at 12:52 pm













कर्मसञ्चार । २०७५ कार्तिक २७ गते मंगलवार