
सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाले नगरलाई स्मार्ट सिटीको अवधारणाअनुरुप अघि बढाउन डिजिटल प्रविधिको पूर्वाधार विकासका जोड दिएको छ । जसको पछिल्लो कदम हो, ठूलो संख्यामा सिसी क्यामेरा जडानका लागि गरिएको सम्झौता ।
नगरपालिकाले नगरका ३ सय ५५ स्थानमा सिसी क्यामेरा जडानको प्रक्रिया थालेको छ । नगरका मुख्य चोक तथा सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका ठाउँहरूमा सिसी क्यामेरा जडान गर्न लागिएको हो । त्यसका लागि बिहिवार त्रिपक्षीय सम्झौता भएको छ । वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार चालु आर्थिक वर्षमा नै पहिलो चरणमा १ सय ५ स्थान र दोस्रो चरणमा २ सय ५० स्थानमा क्यामेरा जडान गरी सञ्चालनमा ल्याइनेछ । नगरपालिकाले चालु आर्थिक वर्षमा सीसी क्यामेरा जडानका लागि ११ लाख ६९ हजार बजेट छुट्याएको छ ।
वीरेन्द्रनगर नगरपालिकालाई प्रविधियुक्त पालिकाको रूपमा विकास गर्नुका साथै नगरभित्रको शान्ति, सुरक्षा मजबुत बनाउन सिसी क्यामेरा जडान गर्न लागिएको हो । सिसी क्यामेराको निगरानीले शहरी सुरक्षा अनुगमन र अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौताअनुसार जडान हुने क्यामेरालाई २४ सै घण्टा सञ्चालनमा ल्याउन नेपाल टेलिकमले अप्टिकल फाइबरसहितको सेवा दिनेछ । त्यस्तै, नगरपालिकाले १ देखि १४ वडाका विभिन्न मुख्य स्थान, राजमार्ग तथा पर्यटकीयस्थलमा सिसी क्यामेरा जडान गर्नेछ ।
नगरपालिकाको परिसर तथा घण्टाघरका दुई स्थानमा टेलिकमले तत्कालै वाइफाइ हटस्पट बनाउन इन्टरनेट जडान गर्नेगरी समझदारी भएको छ । जडान गरिने क्यामेराको नगरपालिकाले सञ्चालन, व्यवस्थापन र आवश्यक मर्मत सम्भार गर्नेछ । त्यस्तै, ती सिसी क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालय सुर्खेतले गर्नेछ ।
नगरभित्रको सुरक्षा चुनौतीलाई प्रविधिका माध्यमबाट नियन्त्रण गर्न सिसी क्यामेरा जडानको तयारी थालिएको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल बताउँछिन् । उनी भन्छिन्, ‘यो योजनाले सुरक्षित र प्रविधिमैत्री नगर निर्माणको अभियानमा ठूलो टेवा पुग्नेछ ।’ विधिको शासनलाई प्रविधिमा जोड्ने हेतुले यस्तो प्रयास थालिएको उनको भनाइ छ ।
नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कमल लामिछानेले सम्झौताअनुसार गुणस्तरी सेवा दिन आफूहरू प्रतिबद्ध रहेको बताए । प्रविधिमा आएको परिवर्तनसँगै यससँग जोडिएर आउने साइबर अपराध नियन्त्रणमा वीरेन्द्रनगरले सुरू गरेको अभियानलाई अन्य पालिकाले पनि अनुसरण गर्नुपर्ने उनले बताए । वीरेन्द्रनगरले थालेको सीसी क्यामेरा जडान योजनाले यो नगरको मात्र नभइ राष्ट्रको डिजिटल दशक घोषणालाई समेत सघाउ पुग्ने लामिछाने बताउँछन् ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा बर्सेनि जनघनत्व बढ्दो छ । जनसंख्याको चापसँगै यहाँ आपराधिक गतिविधिमा पनि बढोत्तरी भएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) सुधीरराज शाहीले सीसी क्यामेरामार्फत अपराधको अनुसन्धान गर्न सहज हुने र त्यस्ता घटनाको न्यूनीकरणमा समेत मदत पुग्ने बताए ।
प्रकाशित मितिः August 1, 2025 at 1:12 pm













कर्मसञ्चार । २०८२ साउन १६ गते शुक्रवार