
सुर्खेत, २६ कात्तिक ।
राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा न्यूनीकरणका लागि कर्णाली प्रदेशस्तरीय हेल्पलाईन (सहायता कक्ष) सञ्चालन गर्ने तयारी थालेको छ । हेल्पलाईन सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन र सुझाव संकलन गर्न आयोगले सोमबार वीरेन्द्रनगरमा सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।
आयोगले हाल काठमाडौंमा मात्रै हेल्पलाईन सेवा सञ्चालन गर्दै आएकोमा अब सबै प्रदेशमा सञ्चालन गर्नेगरि तयारी थालेको आयोगका सचिव तुल्सीराम सेडाइँले बताए ।
कार्यक्रममा सुझाव मन्तव्य राख्दै कर्णाली प्रंदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा विकासका सबै सूचकांकको अवस्था दयनीय रहेको भन्दै सामाजिक न्यायका लागि आयोगले थालेको अभियानको स्रहाना गरे । ‘हामीले थुपैै चुनौतीका बाबजुत सामाजिक न्यायको पनि कल्पना गरेका छौं,’ मन्त्री रावलले भने, ‘कर्णालीलाई हिंसामुक्त समाज बनाउँन चाहान्छौं, त्यसका लागि महिला आयोगको साथ र सहयोग चाहियो ।’
सामाजिक विकासका सूचक बलिया नबनाइँ प्रदेशको समग्र विकास सम्भव नहुँने औंल्याउँदै उनले सामाजिक विकास मन्त्रालयले हिंसामुक्त समाज निर्माणका लागि बजेट, संरचना र योजना बनाउने कामलाई प्राथमिकता दिएको दाबी गरे ।
अन्तरक्रियाका अन्य सहभागिहरूले प्रदेशस्तरमा मात्रै नभई स्थानीय सरकारले पनि मानव अधिकार र महिला आयोगसँगको सहकार्यमा पीडितका लागि सहायता कक्ष सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पीडित पक्षको सहयोगका लागि शुरु गरिने गतिविधि दिगो र प्रभावकारी कार्यान्वयन नहुँने गरेको पाइएको भन्दै शुरु गर्दा जुन उद्देश्य राखिन्छ त्यसको प्रभावकारितामा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।
स्थानीय सरकारहरूसँग पनि थुप्रै बजेट हुनेहुँदा स्थानीय तहमै पीडितका लागि सहायता कक्ष सञ्चालन गर्न सके यस्ता कार्यक्रम पीडितमैत्री हुने जिकिर गरे । भारतीले महिला तथा बालबालिकामाथि हुने सबैखाले हिंसालाई चेतनाको माध्यमबाट उजार गर्नुपर्ने औंल्याए ।
हाल राष्ट्रिय महिला आयोगले काठमाडौंमा सञ्चालन गरिरहेको हेल्पलाईनमा कुनै महिला तथा बालबालिका हिंसामा परेको उजुरी भएमा कानूनी सहयोग, मनोसामाजिक परामर्श, सुरक्षित बास, प्रहरी सहयोग, बालबालिकालाई विशेष सेवा स्वास्थ्य उपचार दिईने गरिएको आयोगले जनाएको छ । पैसा नलाग्ने टेलिफोन नम्बर ‘११४५’ मा फोन गरी पीडितले सहयोग लिन सक्नेछन् ।
स्वयं पीडित, पीडितको आफन्त वा साथी, हिंसाका घटना घटेको देख्ने वा सुन्ने व्यक्ति, हिंसाका घटना घट्न सक्छ भनेर थाहा पाउने व्यक्ति, लैंगिक हिंसा न्यूनिकरण तथा रोकथाम सम्बन्धी काम गर्ने संघ/संस्थाहरूले र अन्य जुनसकै व्यक्तिले पनि खबर गर्न सक्ने आयोगले जनाएको छ । सम्वन्धित व्यक्तिले महिला आयोगमै पुगेर पनि उजुरी दिन सक्नेछन् । कर्णाली प्रदेशमा यस्तै प्रकृतिको हेल्पलाईन सञ्चालनका लागि सुझाव संकलन गर्न आयोगले अन्तरक्रिया गरेको हो ।
प्रकाशित मितिः November 12, 2018 at 2:41 pm























कर्मसञ्चार । २०७५ कार्तिक २६ गते सोमवार