काठमाडौं, १० कार्तिक ।
चीनले नेपाललाई दिने १५० मिलियन चिनियाँ युआन (करिब दुई अर्ब ५३ करोड रुपैयाँ) सहायता सम्बन्धी सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर भएको छ ।
चीनको भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वै फङहबीच शनिबार भएको भेटवार्तापश्चात् विपद् व्यवस्थापन परिचालनका लागि यो सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।
यो सहयोग आगामी ५ वर्षका लागि मानवीय तथा विपद व्यवस्थापन उपकरणमा खर्च गरिनेछ । भेटवार्ताका क्रममा रक्षामन्त्री पोखरेलले नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै नेपालका प्रधानमन्त्री केपी शर्माओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझै उचाइमा पुगेको र राजनीतिक विश्वास बढाएको बताए । मन्त्री पोखरेलले सैन्य तालिम तथा सैन्य सहायता, मानवीय तथा विपद व्यवस्थापन सम्बन्धी सामग्री, औषधी उपकरण, शान्ति स्थापना तथा नेपालमा रक्षा विश्वविद्यालय स्थापनाका लागि चिनियाँ सहयोगको अपेक्षा गरे ।
उनले भने, ‘सहयोग सम्झौतामा हस्ताक्षर चीनले गर्दै आएको सहयोगको निरन्तरता नै हो। नेपाली सेनाको क्षमता वृद्धि र आत्मनिर्भरताका क्षेत्रमा सहयोग केन्द्रित हुनेछ ।’
प्रत्युत्तरमा चीनका रक्षामन्त्री वै फङहले एक चीन नीतिमा समर्थन तथा तिब्बत मामिलामा नेपालले अंगीकार गरेको नीतिको प्रशंसा गरे । उनले दुवै देशबीच सैन्य सहकार्य सबल पार्ने तथा नेपाललाई आवश्यक पर्ने सहयोगका लागि चीन तत्पर रहेको बताए । सहकार्य सम्बन्धी विस्तृत धारणा भविष्यमा आपसी समझदारीबाट तय गरिने पनि उनले बताए ।
मन्त्री पोखरेल बेइजिङमा भएको आठौं स्याङशान मञ्चमा सहभागी हुन चीन आएका थिए । मञ्च २६ अक्टोबरमा सम्पन्न भएको छ । मञ्चमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरूले विश्व सुरक्षा प्रशासनको नयाँ विचार र नयाँ उपाय, आतंकवादको सामना, समुद्री सुरक्षाको सहयोग र इच्छा, संयुक्त राष्ट्र संघको शान्ति सुरक्षाका चुनौती र सहयोग लगायतका विषयमा विचारविमर्श गरेका छन् ।
प्रकाशित मितिः October 27, 2018 at 5:15 pm


कर्मसञ्चार । २०७५ कार्तिक १० गते शनिवार