रारा विमानस्थलको निर्माणकार्य ३५ वर्षसम्म अधुरै

मुगु, १३ भदौ ।
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुस्थित राराताल नजिकै २०३८ सालमा सञ्चालनमा आएको रारा (ताल्चा) विमानस्थलको ३५ वर्ष बितिसक्दा पनि निर्माणकार्य सम्पन्न भएको छैन । सरकारले पर्याप्त रकम नछुटयाउँदा रारा विमानस्थलको काम तीन दशकभन्दा बढी समयसम्म पुरा हुन नसकेको हो ।
विमानस्थलको टर्मिनल टावर, यात्रु जाँच पोस्ट, घेरबार, सार्वजनिक शौचालय र सुरक्षाकर्मी बस्ने भवन अझै बन्नेका छैनन् । काठको टहरामा उपकरण राखेर जहाज अवतरण गर्ने गरिएको छ । काठकै टहरो बनाएर सुरक्षाकर्मीले यात्रु जाँच गर्छन् । वरिपरि गतिलो घेरबार नहुँदा कुकुर र चौपाया धपाउन सुरक्षाकर्मीलाई हैरानी हुने गरेको छ । छायाँनाथ–रारा नगरपालिका ४, का वडाध्यक्ष विष्णुकुमार भामले विमानस्थलको काम ‘कछुवा गति’ मा भइरहेको बताए ।
ढल निकास नहुँदा थप समस्या भएको विमानस्थलका कर्मचारी बताउँछन् । चालु आवमा टर्मिनल टावरलगायत अन्य भौतिक पूर्वाधारका संरचना निर्माण गर्न १५ करोड बजेट माग गरिएको थियो । तर, स्वीकृति भएर नआएको विमानस्थल सुधार आयोजना प्रमुख प्रकाश श्रेष्ठले बताए । उनकाअनुसार विमानस्थल तलमाथि रिटेनिङ वाल लगाउने काम भइरहेको छ । ‘कहिले बजेट अभाव त कहिले समयमा काम नहुँदा समस्या भयो,’ उनले भने, ‘वर्षायाममा जहाज ग्राउन्ड गर्ने पार्किङमाथि र दक्षिण–पूर्वपट्टिको भागमा पहिरो जाँदा समस्या भएको छ ।’ निर्माण सुरु भएदेखि हालसम्म २७ करोड बढी खर्च भइसकेको आयोजनाले जनाएको छ ।

प्रकाशित मितिः   August 29, 2018 at 11:48 am 


  • प्रतिक्रिया दिनुहोस्