वीरेन्द्रनगर, १३ भदौ ।
हिल्सा पब्लिक यातायात प्रालिले (आज) बुधबारदेखि सुर्खेत–काठमाडौं रुटमा रात्रीकालिन बस सेवा शुरु गरेको छ । अपराह्न ५ बजे ना ७ ख ६०४८ नम्बरको बस सुर्खेत बसपार्कबाट काठमाडौंका लागि यात्रु बोकेर गुडेको हो ।
सुविधायुक्त युरो तीन एयर बसहरुमार्फत यातायात सेवा दिन लागेको प्रालिले नियमित रुपमा सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत बस सेवा सञ्चालन हुने बताएको छ ।
प्रालिका सचिव जीवनकुमार शर्माले यात्रुहरुको मागलाई मध्यनजर गरी सुर्खेत–काठमाडौं नियमित बस सेवा शुरु गरिएको बताए । सचिव शर्माका अनुसार बसमा फ्रि–वाईफाई, डिफ्रिज, सिसी क्यामरा, हिटर, कुलर, युएसबी चार्जर र यात्रु सिटमा सिट बेल्डको व्यवस्था छ ।
प्रालिको रात्री बस सुर्खेत र काठमाडौंबाट दैनिक अपराह्न ५ बजे छुट्नेछ । यो रुटमा प्रतियात्रु एक हजार पाँच सय रुपैयाँ भाडा कायम गरिएको छ । एयर हिल्सा नाम दिइएको बस प्रालिले ८६ लाख मूल्यमा भित्र्याएको हो ।
https://karmasanchar.com/2018/08/572/





कर्मसञ्चार । २०७५ भाद्र १३ गते बुधवार