पर्यटक तान्दै बुलबुले, ओझेलमा बराहताल

वीरेन्द्रनगर, ११ भदौ ।
३० को दशकमा रेडियो नेपालमा एउटा गीत रेकर्ड भयो– ‘सुर्खेत बुलबुले ताल मै सानी हुनाले छुट्यो माया जाल’ । लोक संकलक प्रेमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा रहेको यही गीतले बुलबुले ताललाई मात्र नभई सुर्खेतलाई नै चर्चित बनायो ।

त्यतिबेला अहिलेजस्तो यातायात र घुम्ने संस्कारको विकास भइसकेको थिएन । त्यसैले सुर्खेत र बुलबुले तालबारे कमैलाई थाहा थियो । यो गीत रेडियो नेपालबाट बारम्बार गुञ्जिरहने हुँदा अधिकांशको जनजिब्रोमा बस्न सफल भयो, सुर्खेत अनि, बुलबुले ताल ।

गीत–संगीतका माध्यमले बुलबुलेको प्रवद्र्धन हुन थालेको ४० वर्ष बिते पनि यसको भौतिक विकासले भने गति लिन सकेन । नारायणकुमार कोइराला उपत्यका नगर विकास समितिको अध्यक्ष भएपछि उनको योजनामा बुलबुले आर्कषक गन्तव्य बन्न थालेको छ । तालकोे मुहार फेरिएको अनुभव स्थानीयले गरेका छन् । ताल, पार्क (उद्यान) व्यवस्थापनको सुरुवात भएको छ भने ¥याफ्टिङ सञ्चालनमा ल्याइएसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।

उपत्यका नगर विकास समितिले पहिलोपटक बृहत् बुलबुले क्षेत्र विकास गुरुयोजना निर्माण गरेपछि अहिले यहाँको भौतिक संरचना विकासको बाटो खुलेको छ । समितिले पाँच लाख खर्चेर गुरुयोजना निर्माण गरेको हो । ३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुलेलाई कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने तयारी छ ।

समितिका अध्यक्ष कोइरालाले बुलबुलेलाई ताल र पार्कमै सीमित नराख्ने बताए । ‘प्रदेश सरकारले यो वर्षलाई कर्णाली रारा पर्यटन वर्षका रुपमा मनाइरहेको छ, बुलबुले ताल यहाँको प्रमुख गन्तव्य हो,’ कोइरालाले भने, ‘सरकारले पर्यटन वर्षकै अभियानअन्तर्गत गुरुयोजना बमोजिम यसको विकासमा पनि ध्यान दिनुपर्छ ।’

बुलबुलेको गुरुयोजना अनुसारकै संरचना निर्माण गर्न करिब ३१ करोड बजेट खर्च हुनेछ । आर्किटेक्ट डिजाइन एसोसिएट प्रालिले बनाएको गुरुयोजनामा स्विमिङ पुल, स्नान घर, बोटिङ, ताल वारपार गर्न पुल, पिकनिक स्थल, बाल उद्यान, बुलबुले प्लाजा, टिकट घर, मन्दिर, पार्किङ, पर्यटन सूचना केन्द्र र कार्यालय भवनको प्रस्ताव गरिएको छ । गुरुयोजनामा ताल क्षेत्रलाई विस्तार गर्ने उल्लेख छ ।

दक्षिणी क्षेत्रमा तालको क्षेत्र विस्तार गर्न सकिनेछ । हाल जथाभावी प्रयोग हुँदै आएको पिकनिकस्थललाई अब व्यवस्थित बनाइनेछ । पिकनिकका लागि आवश्यक सामग्रीहरू त्यहीं किन्न सकिनेछ । बुलबुलेमा हाल खुला स्थानमै नुहाउने गरिन्छ । गुरुयोजनामा महिला–पुरुषका लागि बेग्लाबेग्लै स्नान घर बनाइनेछ ।

आझेलमा बराहताल

सुर्खेतको सबैभन्दा ठूलो ताल ‘बराहताल’ ओझेलमा छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट ३१ किलोमिटर पश्चिम रहेको सुन्दर बराहताल संरक्षण र प्रचार अभावले ओझेलमा परेको हो । यसको संरक्षण र विकासमा कसैको ध्यान पुग्न सकेको छैन । करिब २६ विगाहा क्षेत्रफलमा फैलिएको ताल संकटमा पर्दै गएको छ । न्यून संख्यामा पुग्ने आन्तरिक पर्यटकहरु तालको पछिल्लो अवस्थामा खिन्न हुने गरेको स्थानीयबासीको अनुभव छ ।

तालको संरक्षण र सम्वद्र्धनमा कसैले चासो नदिँदा दिनप्रतिदिन ताल जीर्ण बन्दै गएको हो । बराह तालका अनेक विशेषता छन् । जंगलको बीचमा रहेको यो ताल आफैमा आकर्षक छ । तालको एक भागमा मन्दिर छ । यद्यपि मन्दिरको संरक्षण हुन सकेको छैन । त्यति मात्र होइन बराह तालसँग चराहरुको मोह पनि रोचक छ ।

प्रत्येक वर्ष टाढा–टाढाबाट विभिन्न प्रकारका फिरन्ते चराहरु यहाँ घुम्न आउँछन् । तालमा हाँससहित अनेक प्रजातिका चराहरु पौडी खेलिरहेको दृश्य मनमोहक लाग्छ । चराहरु तालमा पौडिने मात्र होइन तालको बीच भागमा खसेका पात र फोहोर समेत चुच्चोले टिपेर बाहिर फाल्ने गरेको स्थानीयहरु बताउँछन् ।

तालसम्म पुग्न मोटरबाटो छैन । भौतिक पूर्वाधार विकास र प्रचारकै अभावमा बराहताल ओझेलमा परेको स्थानीयको गुनासो छ । बराहताल पर्यटकीय आकर्षणको केन्द्रविन्दु बन्न सक्ने भन्दै प्रचार–प्रसारका लागि गाउँपालिकाले योजनावद्ध विकासका कार्यक्रम ल्याउन लागिएको बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेतले जानकारी दिए ।

प्रकाशित मितिः   August 27, 2018 at 10:22 am 


  • प्रतिक्रिया दिनुहोस्