
सुर्खेत । कर्णाली प्रदेशका अधिकांश जिल्लामा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालकै पहाडी र तराई भूभागमा वर्षा भइरहेको हो । मंगलबार रातिदेखि उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमशः पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुगे पनि जति पूर्व गयो त्यति कम प्रभाव छ । बुधवार विहानदेखि कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।

विभागका वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजै साँझबाट बादल हट्ने र मौसममा सुधार हुनेछ ।
प्रकाशित मितिः January 28, 2026 at 9:06 am


कर्मसञ्चार । २०८२ माघ १४ गते बुधवार