अधिकांश स्थानीय तहले आज ल्याउँदैछन् बजेट


सुर्खेतः देशभरका अधिकांश स्थानीय तहले आज आगामी वर्षको बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न लागेका हुन् । कर्णाली प्रदेश राजधानीको नगर वीरेन्द्रनगर नगरपालिकाले पनि आजै नीति, कार्यक्रम तथा बजेट ल्याउँदैछ । वीरेन्द्रनगरको १७औं नगरसभा दिउँसो १ बजे बस्ने तयारी गरिएको छ । उक्त सभाले नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नेछ ।
कर्णालीका कतिपय स्थानीय तहले यसअघि नै आगामी वर्षको बजेट ल्याइसकेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान अनुसार स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ । स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
अघिल्ला वर्षहरुमा केही स्थानीय तहले निर्धारित समयभन्दा निकै पछि बजेट सार्वजनिक गर्ने गरेका थिए । यसले गर्दा वित्तीय अनुशासनमा प्रश्न उठ्नुका साथै बजेट खर्चमा समेत प्रभाव पर्ने गरेको थियो ।

प्रकाशित मितिः   June 24, 2025 at 12:33 pm 


  • प्रतिक्रिया दिनुहोस्