पीसीआर मेसिन बिग्रिँदा आठ सय स्वाब थन्किए

सुर्खेतः सुर्खेतस्थित प्रदेश अस्पतालमा रहेको आरटी–पीसीआर मेसिन बिग्रिएपछि कोरोना परीक्षणका लागि संकलन भएका स्वाब थन्किएका छन् । पाँच दिनदेखि परीक्षण रोकिँदा आठ सय स्वाब नमुना प्रयोगशालामै थन्किएका हुन् ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार सुर्खेतसहित दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिमबाट संकलन गरेर ल्याइएका स्वाबका नमुना प्रयोगशालाको फ्रिजमा राखिएको छ । कर्णाली प्रदेश सरकारले पीसीआर मेसिन खरिद गरी वैशाख दोस्रो साताबाट परीक्षण थालेको थियो । एक पटकमा ९६ वटा नमुना प्रोसेसिङ गर्ने क्षमता भए पनि मेसिन ‘फूलफेज’ मा चलेको थिएन । क्षमताको करिब आधा संख्यामा परीक्षण हुँदै आएको थियो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले सुर्खेतको मेसिन बिग्रिए पछि नमुनाहरु परीक्षणको लागि आवश्यक प्रक्रिया पूरा गरेर नेपालगन्ज पठाउने काम भइरहेको बताइन् । ‘यहाँको मेसिनमा मात्र काम रोकिएको हो, परीक्षण भने रोकिएको छैन,’ उनले भनिन्, ‘हामीले यहिँको प्रयोगशालामा प्रोसेसिङ गरेर ‘रिडिङ’ को लागि मात्र पठाइरहेका छौं, यसले नतिजा छिटो आउन सक्छ ।’ मंगलबारमात्र नेपालगन्जको प्रयोगशालामा पठाइएका नमुनामध्ये चार वटाको नतिजा पोजिटिभ आएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो मेसिन भए पनि चाप अधिक हुँदा प्रदेश बाहिरको प्रयोगशालामा पठाउनु परेको हो । प्रतिष्ठानको प्रयोगशालामा पनि मंगलवारसम्म करिब आठ सय स्वाब ‘पेन्डिङ’ मा रहेका प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

संघीय सरकारले चैतमा पठाएको कम क्षमताको मेसिन पनि वैशाख दोस्रो सातादेखि बन्द अवस्थामा छ । सोमवार सम्पन्न प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीसहित स्वास्थ्य अधिकारीलाई मेसिन यथाशक्य सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । कर्णालीमा मंगलबारसम्म एक हजार चार सय ४३ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये सबैभन्दा बढी दैलेखका सात सय ६०, सुर्खेतका तीन सय ४७ र सल्यानका एक सय ७७ जना रहेका छन् । यी तीनवटै जिल्लाका नमुनाहरु सुर्खेतको प्रयोगशालामा परीक्षण हुने गरेका थिए । यसले गर्दा पनि सुर्खेतको मेसिन बिग्रिँदा कोरोना पहिचान र प्रतिकार्यको काम प्रभावित भएको छ ।

कर्णालीमा मंगलबारसम्म २९ हजार १ सय ७ जनाको स्वाब परीक्षण भएको छ । कोरोना पुष्टि भएका १ हजार ४ सय ४३ जनामध्ये १ हजार ७२ जना निको भएर आइसोलेसनबाट घर फर्केका सामाजिक विकास मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा महाशाखाकाको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीका तीन सय ६५ जना आइसोलेसनमा उपचाररत छन् । कोरोना पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   June 30, 2020 at 8:22 pm 


  • प्रतिक्रिया दिनुहोस्